हिन्दूराष्ट्रको माग गर्दै पर्सा बन्द

इनेप्लिज २०७२ साउन २५ गते ४:४२ मा प्रकाशित

पर्सा, २५ साउन । हिन्दूराष्ट्रलगायतका पाँच सूत्रीय माग राख्दै हिन्दूराष्ट्र सङ्र्घष समिति पर्साले आज पर्सा जिल्ला बन्द आह्वान गरेपछि त्यहाको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले वीरगन्जमा रहेका पसल, उद्योग, शैक्षिक संस्था बन्द गराएका छन् भने वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो ।

बन्दकर्ता बिहानैदेखि वीरगन्जको घन्टाघर, नगवा, प्रतिमा चोक, छपकैया, मर्ली चोकलगायतका स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् ।

बन्द आह्वानलाई अवज्ञा गरेको भन्दै बन्दकर्ताले वीरगन्जको रजतजयन्ती चोकमा दुई वटा मालबाहक ट्रकमा तोडफोडसमेत गरेका छन् । बन्दकर्ताले ना३ख ७५३८ र ना२ख ६४३० नम्बरका ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाईलाई राष्ट्रिय जनावर घोषित गरी गौ हत्या माथि प्रतिबन्ध लगाउनुपर्ने, धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूत माथि रोक लगाउनुपर्ने, जातीय र क्षेत्रीय शोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने, हिन्दू मठमन्दिरको पौराणिक चलअचल सम्पत्ति पुनः मठमन्दिरको नाममा कायम गरी मठमन्दिरको सञ्चालक समितिमा आस्थावान हिन्दूलाई मात्र नियुक्त गर्नुपर्नेलगायतको माग राखी बन्द आह्वान गरिएको हो ।

प्रतिक्रिया