भूकम्पपीडितका लागि आएको राहत रेडक्रसको गोदाममै कुहियो

इनेप्लिज २०७२ साउन २५ गते २:२० मा प्रकाशित

फलेवास (पर्वत), २५ साउन । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पीडित बनेका पर्वतवासीका नाउँमा नेपाल रेडक्रस सोसाइटी पर्वतलाई विभिन्न दाताबाट प्राप्त भएको लाखौं रुपैयाँ बराबरको राहत सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको छ ।

समयमा वितरण हुन नसक्दा करिब रु पाँच लाखभन्दा बढीको खाद्यान्न सामग्री कुहिँदै छ भने पाउरोटी, बिस्कुट, दालमोठ तथा पेय पदार्थलगायतका खाद्यान्न सडिसकेको अवस्थामा छन् ।

समयमै राहत सामग्री वितरण नहुँदा पीडितले पाउन सकेनन् भने गोदाममै कुहिएर सड्ने अवस्थामा पुग्दासमेत त्यसका बारेमा केही चासो दिइएको छैन । विभिन्न दाताले रेडक्रसमार्फत जिल्लाका अति प्रभावित गाविसमा वितरण गर्न भनि पठाएको सामान समयमा वितरण हुन नसक्दा रेडक्रसको कार्यालयमै कुहिएर दुर्गन्धित अवस्थामा पुगेको छ ।

जिल्लामा भएका दैवी प्रकोपका घटनामा समयमै पुगेर राहत वितरण गर्ने तथा पुनःस्थापनामा समेत सहयोग गर्ने रेडक्रसले पर्वत जिल्लामा भने बितेका वर्षदेखि नै अपारदर्शी ढङ्गले राहत वितरण गर्ने गरेको र अहिले समेत त्यो क्रम दोहोरिएको पीडितले गुनासो गरेका छन् ।

राहतका लागि पर्वत तिलाहारका राजकुमार खत्रीले रुपन्देहीस्थित विभिन्न निकायसँग समन्वय गरेर पठाएको करिब दुई ट्रक सामानमध्ये केही मात्रै वितरण भएको र अन्य सामान भने वितरण हुन सकेको पाइँदैन ।

अहिले पनि रेडक्रसको कार्यालय रहेको भवनमा दुई वटा कोठाभरि चामल, दाल, मैदा, आटा, बिस्कुट, पाउरोटीलगायतका सामान कुहिने अवस्थामा रहेका छन् ।

पर्वत रेडक्रसमा रहेका सामान व्यक्तिगत ढङ्गले आफूखुसी वितरण हुने तथा पारदर्शी नभएको भन्ने आरोप पहिलादेखि नै लाग्ने गरेको भए पनि हालै आएको नयाँ कार्यसमितिले समेत सोही कार्य दोहोर्‍याएपछि रेडक्रसको भूमिका माथि नै प्रश्न चिह्न खडा भएको छ ।

रेडक्रससँग यसभन्दा पहिला कुनै पनि राहत सामग्री स्टक नरहेको र भएका केही पाल पनि भूकम्प गएपछि पहिलो चरणमै वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो ।

जिल्लाका करिब तीन हजार ५०० बढी घरधुरी पूर्ण क्षति भएको तथ्याङ्क जिल्ला प्रशासनमार्फत आएको भए पनि रेडक्रसले केही ठाउँमा मात्रै पहुँचको भरमा वितरण गरेको तर वास्तविक पीडितसम्म नपुगेको दक्षिणी पर्वतबाट कुश्मा आएका पीडित बताउँछन् ।

राहत वितरण गर्ने क्रममा केही पक्षपात नगरिएको र दक्षिणी पर्वतमा लैजान तयार गरिएको सामान लैजान यातायातको व्यवस्था हुन नसक्दा पछि पठाउने तयारी भएको सभापति रिमालको भनाइ छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतले समेत ती सामान वितरण गर्न कुनै चासो दिएको छैन । समितिको बैठकले समेत वर्षामा आउने दैवी प्रकोपमा वितरण गर्नुपर्ने भएकाले अहिले नसक्न आदेश दिएकाले वितरण नगरिएको सभापति रिमालले बताउनुभयो ।

प्रतिक्रिया