सङ्घीयताको खाका सकारात्मक भएको झापाली नेताको बिचार

इनेप्लिज २०७२ साउन २४ गते १४:१३ मा प्रकाशित

दमक, २४ साउन । चार राजनीतिक दलले प्रस्तुत गरेको सङ्घीयताको खाकाप्रति झापाका राजनीतिकर्मी तथा नागरिक समाजका अगुवाले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

रासससँग कुराकानी गर्दै उहाँहरुले नेपाललाई समुन्नत बनाउन सकिने अवधारणा अनुरुपको सङ्घीयताको खाका आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ७ का सभापति शेरबहादुर भट्टराईले सिमाङ्कनसहितको छ प्रदेशको खाका आउनु देशको हितमा भएको बताउनुभयो । संविधानको मस्यौदामा आठ प्रदेशको खाका प्रस्तुत गरिएपनि जनताकोे सुझावपछि यसलाई घटाएर छ प्रदेशमा झार्नु भनेको नेपाली जनता सार्बभौम भएको उदाहरणको रुपमा बुझ्नुपर्ने भट्टराईको भनाइ छ ।

नेकपा (एमाले) झापा क्षेत्र नं ७ का अध्यक्ष नेत्र दाहाल लामो प्रतिक्षापछि आएको सङ्घीयताको खाकालाई स्वागत गर्नुपर्ने बताउनुहुन्छ । यो खाका आउनका लागि आठ वर्षको समय खर्चभएको स्मरण गर्दै दाहालले पूर्वी प्रदेशमा मेची र कोशी मात्र राखेको भए राम्रो हुने बताउनुभयो ।

एनेकपा (माओवादी) नेता गगन पुरी अहिले भएको सङ्घीयताको सिमाङ्कन प्रगतिशील भएको बताउनुहुन्छ । झापा, मोरङ, सुनसरीको अलग्गै प्रदेश बनाउन सकेको भए सबभन्दा राम्रो हुने पुरीको तर्क छ ।

दमक उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसाई औद्योगिक र आर्थिक दृष्ट्रिकोणले पूर्वी प्रदेश समृद्ध रहेको बताउनुहुन्छ । औद्योगिक नगरी विराटनगर, अरुण तेस्रो जलविद्युत आयोजना, इलामको चिया र पूर्वी पहाडको नगदे बाली अलैंँचीको सम्भावना यही प्रदेशमा भएकोले यो क्षेत्रका बासिन्दाको आर्थिक स्थिति चाँडै मजबुत हुने बताउनुहुन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय सदस्य नारायण घिमिरे तत्काललाई यो खाकालाई मानेर जानुको बिकल्प नभएको बताउनुहुन्छ । घिमिरेका अनुसार पूर्वी प्रदेशमा सिराहा र सप्तरीलाई पनि मिसाउन पाएको भए थप राम्रो हुने घिमिरेको तर्क छ ।

यस्तै, लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका थर्ड भिपी तथा सामाजिक अगुवा चन्द्र गजमेर मुलुकलाई अग्रगमनतर्फ अगाडि लैजान प्रस्तुत सङ्घीयताको खाका उपयुक्त भएको बताउनुहुन्छ ।

उहाँले जनताले चाहेको संविधान र सङ्घीयता ढिलै भएपनि खाकासहित आउनु स्वागतयोग्य भएको बताउनुभयो ।

हिजो दलहरुबीच भएको सहमतिअनुसार पूर्वाञ्चलका सिराहा र सप्तरी बाहेक १४ वटा जिल्लालाई पूर्वी १ नं प्रदेशमा राखिएको छ तथापि प्रदेशको नामाकरण भइसकेको छैन । यो प्रदेशको क्षेत्रफल २५ हजार ९सय ५ बर्ग किलोमिटर छ । यहाँको जनसंख्या ४५ लाख ३४ हजार ९४३ रहेको छ ।

प्रतिक्रिया