गोरखा सङ्ग्रहालयमा आन्तरिक पर्यटक बढे

इनेप्लिज २०७२ साउन २३ गते १२:०५ मा प्रकाशित

gorkha sangharalayaगोरखाबजार, २३ साउन । गोरखा सदरमुकामको गोरखा सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढेका छन् ।

गत आवको तुलनामा २० प्रतिशतले आन्तरिक पर्यटक बढेका हुन् । यस वर्ष ६३ हजार ६६ जनाले सङ्ग्रहालय अवलोकन गरेको सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिनुभयो ।

गत वर्ष ५६ हजार ७०० ले सङ्ग्रहालय अवलोकन गरेका थिए । “ भूकम्पले गर्दा पर्यटक घटे”, राईले भन्नुभयो, “भूकम्पले प्रभाव नपारेको भए गत वर्षको तुलनामा ५० प्रतिशत बढीले सङ्ग्रहालय घुम्ने थिए ।” भूकम्पले सङ्ग्रहालयमा असर नपुगेपनि पर्यटक सङ्ग्रहालय अवलोकनका लागि नआएको राईको भनाइ छ ।

गत वर्ष एक हजार ८३ जना विदेशी पर्यटकले सङ्ग्रहालय घुमेको तथ्याङ्क छ । साथै ३५ हजार १४० जना विद्यार्थी, २६ हजार ७०० आन्तरिक पर्यटकले सङ्ग्रहालय घुमेका छन् । सङ्ग्रहालयभित्र शाहवंशीय राजाका बारेमा विस्तृत रूपमा जानकारी राखिएको छ ।

“बाउन्न हात लामो पृथ्वीनारायण शाहको चिनो आकर्षक छ”, राईले भन्नुभयो, “सङ्ग्रहालय बाहिर रहेको पृथ्वीनारायण शाहको शालिकले पनि पर्यटकको बसाइँ बढाएको हो ।” साथै सङ्ग्रहालयभित्र गोरखा जिल्लाभित्र बसोबास गर्दै आएका विभिन्न आदिबासी, जनजाति, लोपोन्मुख जातिको संस्कार, संस्कृतिबारे विस्तृत जानकारी रहेको छ ।

पर्यटकबाट रु ७१ हजार ४१० राजस्व सङ्कलन भएको छ । सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई रु पाँच र अन्य व्यक्तिलाई रु १०, विदेशी पर्यटकलाई रु ५० प्रवेश शुल्क लिने गरिएको छ ।

प्रतिक्रिया