पशुपालक किसानलाई एक करोड अनुदान

इनेप्लिज २०७२ साउन २३ गते १२:०३ मा प्रकाशित

cooperatives-cowsसुरुङ्गा (झापा), २३ साउन । झापाका किसानले सुरु गरेको व्यावसायिक पशुपालन पछिल्लो समय फस्टाउँदै गएको पाइएको छ ।

सरकारले किसानको आयआर्जनमा वृद्धि गर्न व्यावसायिक पशुपालनमा जोड दिँदै सरकारी अनुदान रकमसमेत उपलब्ध गराउन थालेसँगै झापामा पशुपालन व्यवसाय फस्टाउँदै गएको हो ।

जिल्ला पशु विकास कार्यालय झापाका पशु विकास अधिकृत विनय श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक गाई पाल्ने किसानको सङ्ख्या बढिरहेको छ । उहाँका अनुसार झापाका ६२ वटा फार्ममा व्यावसायिक गाईपालन गरिएको छ ।

जिल्लामा व्यावसायिक गाईपालन गर्ने फार्म कमैले मात्र दर्ता गराए पनि यहाँका किसानले यस आवमा दुई लाख ५२ हजार २४८ वटा गाई पालेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आव झापामा दुई लाख ४२ हजार ४८ वटा गाई पालिएको थियो ।

सरकारले झापाका पशुपालक किसानका लागि आव ०७१÷७२ मा रु एक करोड अनुदान रकम उपलब्ध गराएको बताइएको छ । यो रकम प्याक्ट कार्यक्रमअन्तर्गतका परियोजनाबाहेकका किसानका लागि वितरण गरिएको रकम हो पशु विकास अधिकृत श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार आव ०७१÷७२ मा युवा लक्षित कार्यक्रमअन्तर्गत रु ३८ लाख, पशु आहार राष्ट्रिय अभियानमार्फत रु चार लाख, मासु पसल सुधारका लागि रु पाँच लाख, डेरी पसल सुधारका लागि रु पाँच लाख किसानलाई अनुदान दिइएको छ । त्यस्तै चारवटा व्यावसायिक पशुपालन फर्मका लागि रु १०÷१० लाख अनुदान दिइएको बताइएको छ ।
झापामा आव ०७१÷७२ मा १० वटा बङ्गुर फार्म थपिएका छन् भने व्यावसायिक उद्यमका रूपमा बाख्रापालनका लागि आठवटा फार्म स्थापना भएको जिल्ला पशु विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया