मौसम पूर्वानूमानलाई विश्वासिलो बनाइने

इनेप्लिज २०७२ साउन २३ गते १२:०१ मा प्रकाशित

काठमाडौँ, २३ साउन । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले कम्तीमा तीन दिनअघि मौसम पूर्वानूमान र कृषि क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असर न्यून गर्न किसानलाई आवश्यक सूचना उपलब्ध गराउने तयारी गरिरहेको छ ।

सो आयोजनाको प्रगति र भावी योजना विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा त्यसका लागि जलवायु परिवर्तनबाट वातावरण र कृषि क्षेत्रमा देखिएका असरका सम्बन्धमा समयमै सूचना सङ्कलन, सम्प्रेषण र विश्लेषणको आवश्यकतामा जोड दिइयो ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न कुन कुन निकायसँग कसरी तालमेल मिलाएर अघि बढ्ने, समस्या के कस्ता देखिएका छन्, कमीकमजोरीलाई कुन ढङ्गले सम्बोधन गरी सवलीकरण गर्ने भन्नेमा स्पष्ट मार्गचित्र बनाउन आवश्यक रहेको सो अवसरमा सुझाव दिइएको छ ।

आयोजना कार्यान्वयनको सुस्पष्ट कार्ययोजना तयार गरिएको खण्डमा आमजनतालाई यसबारे सुसूचित गर्न तथा जलवायु परिवर्तनबाट मौसम पूर्वानुमानमा सूचना प्राप्त गर्न कुनै अप्ठयारो नपर्ने विज्ञहरुको भनाइ रहेको छ ।

जलवायु परिवर्तनको असरका रुपमा पृथ्वी तात्ने, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका घटना हुने, अतिवृष्टि र खण्डवृष्टि तथा सुख्खा हुने जस्ता घटना हुने गरेको बताउदै कार्यक्रममा सहभागी वक्ताहरुले यसको असरलाई कम गर्न तथा प्रतिरोध गर्न जानेका कुरालाई व्यवहारमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

आयोजनाले जल तथा मौसम विज्ञान विभागको क्षमता अभिवृद्धि गर्ने, सूचनाको स्रोतलाई आधुनिक एवम् बलियो बनाउने, पूर्वानुमानलाई विश्वासिलो तुल्याउने तथा कृषिमा हुने असरलाई घटाउन किसानलाई तालिम, सुझाव दिने काम सुरु गरिसकेको छ ।

जलवायु परिवर्तनका कारण हुने जोखिमलाई न्यूनीकरण गरी सोबाट पर्न सक्ने अवसरलाई कम गर्न नेपाललगायतका केही अल्पविकसित देशमा यस्ता आयोजना लागू गरिएको छ ।

सो अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पोखरेल तथा वातावरण तथा मौसमका क्षेत्रमा अनुभव हासिल गर्नुभएका विज्ञहरु डा ऋषिराम शर्मा, गौतम राजकर्णिकार, पोनाम पिलाई, सरजुकुमार वैद्य, हारी पेइटारिला तथा कृषि विज्ञ शिवनारायण साहलगायतले जलवायु परिवर्तनबाट वातावरण तथा बालीनालीमा देखिएका असरका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया