जनताको सुझाव समेटिएर संविधान आउँछ: उपराष्ट्रपति झा

इनेप्लिज २०७२ साउन २२ गते १४:०९ मा प्रकाशित

AKD_6042_hpकाठमाडौँ, २२ साउन । उपराष्ट्रपति परमानन्द झाले जनताको सुझावलाई समेटेर संविधान आउने बताउनुभएको छ ।

तेत्तीस दलीय मोर्चाले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उपराष्ट्रपति झाले संविधानको प्रारम्भिक मस्यौदामाथि दुई लाख जनताको राय सङ्कलन भइसकेकाले सबैको भावनालाई समेट्ने खालको संविधान आउनेछ भन्नुभयो ।

दोस्रो संविधानसभामा ७० प्रतिशत नेपालीले आफ्नो मताधिकार प्रयोग गरेको संविधान निर्माणमा कसैले रोक्न नसक्ने दाबी गर्दै उहाँले चाँडोभन्दा चाँडो संविधान निर्माण हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्नुभयो ।

तेत्तीस दलीय मोर्चाका संयोजक शोभाराम थापाले सर्वपक्षीय राजनीतिक सभाबाट नयाँ संविधान बनाइनुपर्ने बताउनुभयो ।

मोर्चाका सहसंयोजक एवम् हिन्दू राष्ट्र नेपाल पार्टीका अध्यक्ष रामेश्वर थापाले सदियौँदेखि आएको धर्मको रक्षा गर्नुपर्ने भन्दै सङ्घीयताको नाममा देश टुक्य्राउन नहुने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउनेमा हिन्दू राष्ट्र नेपाल, जनमोर्चा नेपाल, नेपाल समता पार्टी, नेपाल सुकुम्बासी पार्टी, बहुजाति समावेशी पार्टीलगायत छन् ।

प्रतिक्रिया