सेनाको कल्याणकारी कार्यलाई प्रभावकारी बनाइने

इनेप्लिज २०७२ साउन २२ गते १३:४८ मा प्रकाशित

काठमाडौँ, २२ साउन । नेपाली सेनाले सैनिक कल्याणकारी कोषबाट सञ्चालन गर्दै आएको कल्याणकारी कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने भएको छ ।

सैनिक कल्याणकारी योजना निर्देशनालयले आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी कोषबाट सञ्चालन हुँदै आएका स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, बिमा, परिवार आवास र सीपमूलक व्यावसायिक तालिमका कार्यलाई प्रवाकारी बनाउँदै लैजाने उल्लेख गर्‍यो । निर्देशनालयका निर्देशक सहायक रथी ज्ञानेन्द्रजङ्ग रायमाझीले चालु आव २०७२÷७३ मा त्रिचन्द्र मिलिटरी अस्पताल र नर्सिङ कलेज सञ्चालनका सुविधायुक्त भवनको निर्माण तथा मेडिकल पोलिटेक्निस कलेजको भवन पूरा भई सञ्चालन कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

त्यसैगरी अवकाशप्राप्त सैनिकको हेरचाहका लागि कोषको स्वामित्व रहने गरी काठमाडौँको लप्सेफेदीमा १० आवा कुटी निर्माण कार्य जारी रहेको र बुटवलको रामनगरमा ‘फ्युल स्टेसन’ सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।

निर्देशक रायमाझीले प्रशोधित पिउने पानीको प्लान्ट सञ्चालन भइरहेको, सिभिल एक्स्प्लोसिप प्लान्ट र डँडेलधुरामा पोलिक्लिनिक सञ्चालन भइरहेको, द्वन्द्वका घाइतेलाई स्कुटर वितरण र पशुपतिस्थित सैनिक सेवा केन्द्रमा किरियापुत्री बस्ने भवन निर्माण भइरहेको बताउनुभयो । उक्त कार्यक्रमका लागि निर्देशनालयले सैनिक कल्याणकारी कोषमा जम्मा भएको रकम उपयोग गर्ने छ । निर्देशनालयका अनुसार कोषमा गत असार मसान्तमा रु ३४ अर्ब चार करोड ८३ लाख जम्मा भएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा राखिएका कोषका रकमबाट नेपाली सेनाले कल्याणकारी कार्य गर्दै आएको उल्लेख गर्दै निर्देशनालयका विज्ञ सल्लाहकार धनीदास कार्कीले कोषलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले कल्याणकारी कोषको रकमलाई सुरक्षित बैंकमा मात्र राख्ने नीति रहेको उल्लेख गर्दै भन्नुभयो, “‘क’ वर्गका वाणिज्य बैंकभन्दा अन्यत्र कोषको बचत हुँदैन ।”

सहायक रथी सुरेशराज थापाले कोषको मुख्य स्रोत शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त रकम भएको जानकारी दिनुभयो ।

भूकम्पपीडितलाई राहत
निर्देशनालयले उक्त कोषबाट गत आव २०७१/७२ भूकम्प र त्यसपछिका कम्पनबाट पीडित बहालवाला तथा अवकाशप्राप्त सैनिकलाई लक्ष्य गरी कोषबाट राहत वितरण गरेको छ । विपद्मा परी मृत्यु भएका बहालवाला प्रतिमृतक रु तीन लाख, पूर्ण घर क्षति भएका सैनिकलाई प्रतिव्यक्ति रु ५० हजार र आंशिक क्षति भएका सैनिकलाई प्रतिव्यक्ति रु २५ हजार राहत उपलब्ध गराइएको हो ।

कर्तव्यपालनका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका बहालवाला सैनिकलाई अशक्तताका आधारमा रु एक लाखसम्म आर्थिक राहत उपलब्ध गराइएको छ । त्यसैगरी सैनिकका छोराछोरी निःसहाय एवम् टुहुरो भएका कक्षा १ देखि १२ कक्षामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइने निर्देशनालयका निर्देशक रायमाझीले जानकारी दिनुभयो । नेपाली सेनाले विनाशकारी भूकम्प २०७२ राहत व्यवस्थापन मूल समिति एवम् केन्द्रीयस्तर र बाहिनीस्तर रहने गरी सहायता कक्षको गठन गरी सञ्चालनमा ल्याएको थियो ।

गत आवमा नै नेपाली सेना कल्याणकारी बोर्ड, नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट, नेपाली सेना व्यावसायिक तालिम केन्द्र, क्षेत्रीयस्तरमा भूतपूर्व सैनिक सम्मेलन, लघुवित्त कर्जा र सवारी साधन ऋण योजनालगायत कल्याणकारी कार्य सञ्चालन गरिएको थियो । नेपाली सेना संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

प्रतिक्रिया