तरकारी निर्यात भन्दा आयात तीन गुणा बढी

इनेप्लिज २०७२ साउन २२ गते १३:४५ मा प्रकाशित

tarkariकाँकडभिट्टा (झापा), २२ साउन । नेपालबाट भारत निर्यात हुनेभन्दा आयात हुने तरकारीको मात्रा तीन गुणा बढी रहेको छ ।

आव २०७१/७२ को क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार भारतबाट रु तीन अर्ब ४० करोड २५ लाख ८३ हजार बराबरको कृषिजन्य सामग्री आयात भएको छ ।

गत आवमा भारतबाट नेपाल आयात हुने तरकारीमा सबैभन्दा बढी गोलभेंडा रहेको छ । सो अवधिमा रु छ करोड छ लाख १२ हजार बराबरको छ हजार १०३ मेट्रिक टन गोलभेँडा आयात भएको क्वारेन्टाइनका वरिष्ठ अधिकृत नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी, दोस्रोमा करेला र तेस्रोमा हरियो खुसार्नी रहेको अधिकृत श्रेष्ठको भनाइ छ । सो अवधिमा रु दुई करोड ८९ लाख ८१ हजार बराबरको दुई हजार ९२६ मेट्रिक टन करेला र रु दुई करोड ८३ लाख १९ हजार बराबरको दुई हजार ८७३ मेट्रिक टन हरियो खुसार्नी आयात भएको थियो ।

भारतबाट गत आवमा परवल, लौका, घिरौला, फर्सी, बोडी, भिन्डी, सिमी, काँचो कटहर, स्कुस, मौसम, स्याउ, कागती, बयर, अनार, अङ्गुर, सुन्तला, खजुर, आँपलगायत गरी रु तीन अर्ब, २८ करोड ४६ लाख ७१ हजार बराबरको आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा पूर्वी नाका काँकडभिट्टा हुँदै रु एक अर्ब ४७ करोड ७१ लाख ६० हजार बराबरको सामग्री मात्र नेपालबाट भारत निर्यात भएको छ । नेपालबाट सबैभन्दा बढी मुसुरो दाल निर्यात भएको हो ।

सोही अवधिमा रु ९३ करोड ३६ लाख पाँच हजारको आठ हजार ५८८ मेट्रिक टन दाल बङ्गलादेश निर्यात भएको हो । त्यसैगरी, रु तीन करोड ९० लाख ३१ हजार बराबरको चार हजार ८७९ मेट्रिक टन बन्दागोबी, रु १२ करोड ५५ लाख ९२ हजारको अम्लिसो कुचो र १२ हजार ६०८ मेट्रिक टन निर्यात भएको छ ।

नेपालबाट भारत निर्यात हुनेमा जडीबुटीजन्य वस्तु चिराइतो, जटामसी, रिठ्ठा, सतावर, मजिठो, नागबेली, विषजरा, मुंसाली, पदमचाल गरी रु दुई करोड चार लाख ४८ हजार बराबरको ३८३ मेट्रिक टन निर्यात भएको छ । यो नाका भएर ताजा तरकारी, आलस, चोकर, धानको भुसलगायतका सामग्री समेत निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया