बारपाकमा कमलपित्त देखियो, औषधि नभएपछि जडीबुटीको भर

इनेप्लिज २०७२ साउन २२ गते १३:२७ मा प्रकाशित

गोरखाबजार, २२ साउन । गोरखाको बारपाक गाविस–६ की सीताकुमारी घलेको दिनचर्या हिजोआज औषधिमूलो खोज्दैमा बित्ने गरेको छ । उहाँकी साढे तीन वर्षकी छोरी मेरिस्का घले रोगले थलिएको आज २० दिन पुगिसक्यो । औषधिमूलो खोज्दै घले दिनहुँ बारपाक गाउँ नजिकैको रागर सामुदायिक वनमा पुग्नुहुन्छ र जडीबुटी खोज्नुुहुन्छ ।

घलेको मात्र होइन, घरमा साना छोराछोरी भएका अधिकांश बारपाकी अभिभावकको दिनचर्या गत असार अन्तिम सातादेखि नै बदलिएको हो । त्रिपालमुनि, होचो छानो भएको टहरोमुनि बसोवास गर्दै आएका बारपाकका भूकम्पपीडित बालबालिका एकपछि अर्को गरी बिरामी परेका छन् । समयमै उपचार सेवा नपाउँदा बालबालिकाको शरीर झन् गल्दै गएको छ । महिनादिन बित्दासमेत औषधि उपचार नपाएर बिरामीको सङ्ख्या थपिँदो छ ।

बारपाक–६ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार गाउँका बालबालिकालाई कमलपित्त रोगले सताएको छ । “स्वास्थ्य चौकीमा औषधि नै हुँदो रहेनछ,” उहाँले भन्नुभयो – “बिरामी छोराछोरी बोकेर अभिभावक स्वास्थ्य चौकी जाँदै फर्कंदै गरेका छन् ।” स्थानीयवासीले पहेँले भन्ने गरेको कमलपित्त रोगले बालबालिका ग्रसित भएको घलेले जानकारी दिनुभयो ।

“स्वास्थ्य चौकीमा औषधि नभेटाएपछि बिरामीका आमाबाबु जडीबुटी खोज्न जङ्गल पसिरहेका छन्,” उहाँले भन्नुभयो – “दिनभर जडीबुटी खोज्छन् । बेलुकी बिरामीलाई पिलाउँछन् ।” कुड्की, चुक्रोको बोक्रालगायत जडीबुटीको जरा थिचेर निकालिएको रस (झोल) खुवाएपछि बिरामी बालबालिकामध्ये केही तङ्ग्रिएका छन् ।

“बालबालिकाले धेरै चाउचाउ खाए,” घलेले भन्नुभयो – “भूकम्पपछि घर भत्कियो । अन्नहरु पुरियो । बालबालिकाले जतिबेला पनि चाउचाउ खाए । त्यसको असरले गर्दा कमलपित्त देखापरेको हुनुपर्छ ।” मानिसहरु टहरा निर्माणको कामलाई छाडेर बिरामी छोराछोरीलाई औषधिमूलो गर्न जडीबुटीको खोजीमा लागिपरेका छन् । कमलपित्त रोगको औषधि नभए पनि पहेँला जातका फलफूल, उखु, फर्सी, मेवालगायतका फलफूल बारपाक क्षेत्रमा नहुँदा समस्या भएको घलेले बताउनुभयो । बारपाक गाउँका १५० जनाभन्दा बढी बालबालिकामा कमलपित्त रोगको लक्षण देखा परेको छ । अधिकांश बालबालिका विद्यालय जाने उमेरका छन् ।

बारपाकमा कमलपित्त रोग फैलिएकोबारे जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा अनभिज्ञ छ । “केही दिनअघि बारपाक स्वास्थ्य चौकीका अहेब कार्यालय आउनुभएको थियो,” वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले भन्नुभयो – “उहाँले बालबालिकामा फैलिएको भनिएको रोगबारे हामीलाई केही जानकारी गराउनुभएन ।” भाइरलको औषधि नहुने भन्दै अधिकारीले धमिलो पानी नपिउन बारपाकवासीलाई आग्रह गर्नुभएको छ ।

“बर्खाका बेला कसरी कर्मचारी पठाउने ?,” अधिकारीले भन्नुभयो – “जन्डिस आफैँ निको हुने रोग हो, आत्तिनुपर्दैन । पानी उमालेर खानुपर्छ ।” बारपाकस्थित स्वास्थ्य चौकीका अहेबलाई सम्पर्कमा ल्याएर त्यहाँको अवस्थाबारे जानकारी लिने तयारी गरिएको अधिकारीको भनाइ छ । सदरमुकामदेखि बारपाकसम्म ५२ किलो मिटरको कच्ची बाटो हो । बर्खा लागेसँगै बारपाक क्षेत्रमा गाडी जाँदैन ।

प्रतिक्रिया