हारजित बिना नै करिब विवाद समुदायमै समाधान

इनेप्लिज २०७२ साउन २२ गते ४:०८ मा प्रकाशित

कञ्चनपुर, २२ साउन । हारजित बिना नै विवाद समुदायमा समाधान हुन थालेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाका बासिन्दाको अनावश्यक रुपमा खर्च हुने पैसा र समयको बचत हुन थालेको छ ।

एक दशकदेखि सञ्चालन हुँदै आएको मेलमिलाप केन्द्रमै आपसी झैँझगडा, जग्गाको सीमा विवाद, लेनदेन, बाटो विवाद, कुलो पानी र घरेलु हिंसालगायतका समस्या पक्ष र विपक्षको हारजित बिना नै समाधान हुन थालेपछि स्थानीय बासिन्दाले न्यायको अनुभूति गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७१÷७२ मा केन्द्रमा दर्ता भएका १३६ विवादमध्ये मिलमिलापकर्ताले १२२ वटा विवादको समाधान गरेका छन् । अन्य बाँकी रहेका विवाद प्रक्रियामा रहेको मेलमिलाप केन्द्रका संयोजक विमला चौधरीले बताउनुभयो । आव २०७०÷७१ मा केन्द्रमा ४६८ विवाद दर्ता भएकामा ३४२ विवाद समाधान गरिएका थिए ।

मेलमिलाप केन्द्र नहँुदा विगतमा विवाद समाधानका लागि प्रहरी कार्यालय र अदालत पुग्नुपर्ने अवस्था रहेको थियो । स्थानीयवासी धन सिंह रानाले भन्नुभयो, “तालिम प्राप्त मेलमिलापकर्ताले विवादको समाधान सहज तरिकाले गर्दै आएकाले अदालत र प्रहरी कार्यालय पुग्नुपर्ने दिनका अन्त्य भएका छन् ।”

विवादमा पक्ष र विपक्ष दुवैको जित मात्रै हुने हुनाले मनमुटाव हटेर सामाजिक सद्भाव बढ्दै गएको उहाँको भनाइ छ । केन्द्रमा २९ मेलमिलापकर्ता रहेका छन् । केन्द्र विसं २०६२ मा स्थापना भएको हो ।

प्रतिक्रिया