पुनरावेदन विराटनगरमा दुई वर्ष पुगेका सबै मुद्दा फछ्र्यौट

इनेप्लिज २०७२ साउन २२ गते १:४८ मा प्रकाशित

indexपानीट्याङ्की (मोरङ), २२ साउन । पुनरावेदन अदालत विराटनगरमा चालु वर्षमा दुई वर्ष कटेका मुद्दाको सङ्ख्या शून्यमा पुगेको छ ।

जिम्मेवारी सरी आएका र नयाँ दर्ता भएका मुद्दा न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालतले न्याय सम्पादनमा सक्रियता बढाएकाले दुई वर्ष कटेका मुद्दाको सङ्ख्या शून्यमा पुगेको हो ।

अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार ०७०।०७१ मा दर्ता भएका दुई हजार ८९७ मुद्दामध्ये दुई हजार २९ थान मुद्दा फछ्र्योट भएका छन् । अदालतमा बाँकी ८६८ मुद्दा मध्ये १८ महिनादेखि दुई वर्षभित्रका चार, एकदेखि १८ महिनाभित्रका ३२ र बाँकी सबै एक वर्षभित्रका मुद्दा छन् । अदालतमा अब दुई वर्ष म्याद नाघेका मुद्दा एउटा पनि छैनन् ।

यसैगरी पुनरावेदन अदालत विराटनगरमा गत वर्ष दर्ता भएका ४०४ थान रिट निषेधाज्ञाका निवेदनमध्ये ३४३ थान फैसला भएका छन् । १० थान वाणिज्यसम्बन्धी मुद्दामध्ये तीन थान मात्र फैसला भएका छन् । अदालतमा गत वर्ष मेलमिलापमा पठाइएका १२१ थान मुद्दामध्ये १४ वटा मात्र मेलमिलाप भएका छन् । सात थान मुद्दा मेलमिलापका क्रममा छन् । बाँकी एक सय मुद्दा फिर्ता आएका छन् ।

प्रतिक्रिया