बर्सेनि चिन्डाको भरमा नदी वारपार

इनेप्लिज २०७२ साउन २१ गते ४:५५ मा प्रकाशित

जाजरकोट, २१ साउन । यहाँको पश्चिमी क्षेत्रमा पर्ने बालुवामा स्थानीय चिन्डाको साहाराले नदी तर्न बाध्य छन् ।

जुङ्गाथापाचौर र कार्कीगाउँ गाविसका बीच छेरागाडमा पुल नहुँदा स्थानीयवासीले चिन्डाको साहारामा नदी वारपार गर्छन् । चिन्डाले लाइफ ज्याकेटको काम गर्ने स्थानीयवासीको भनाइ छ । “ज्यानको बाजी लगाएर नदी तर्नुपर्छ पुल भएको भए यस्तो सास्ती खेप्नुपर्ने थिएन”, स्थानीय विश्व पुनले भन्नुभयो ।

बालुवा बजारमा पुल बनाउन वर्षौंदेखि माग गरे पनि कतैबाट सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । बालुवासहित जुङ्गाथापाचौर, साल्मा, कार्की र दशेरा गाविसका स्थानीयवासीले नै चिन्डाको प्रयोगबाट उर्लंदो भेल तर्छन् । यसरी नदी तर्दा कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

नदी वारिपारिका गाविसका स्थानीयवासीलाई सामाजिक सम्बन्ध, आर्थिक लेनदेन, मेलापात आवतजावत गर्नसमेत ज्यान जोखिम मोलेर नदी वारपार गर्नुपर्ने अवस्था छ ।
नेतादेखि कर्मचारीसम्म सबैसँग पुल निर्माणको माग गरे पनि पूरा नभएको स्थानीयवासीको दुखेसो छ । चुनावदेखि गाउँ घुम्न आउँदा नेताले दिने आश्वासनले स्थानीयवासी दिक्क भएका छन् । चुनावका बेला सबै पार्टीका नेता, कार्यकर्ताले पुल हालिदिने भन्छन् तर चुनावपछि कसैले हेर्दैनन् स्थानीय शिक्षक गोपाल पुनले गुनासो गर्नुभयो ।

प्रतिक्रिया