मोदीबेनीको जीर्ण झोलुङ्गे पुल ६ वर्षपछि मर्मत
फलेवास (पर्वत), २१ साउन । पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीखोलामा रहेको जीर्ण पुल मर्मत गरिएको छ ।
सदरमुकाम कुस्मासहित दश गाविसका साथै स्याङ्जाका केही गाविसका बासिन्दाले शवयात्राका लागि प्रयोग गर्ने झोलुङ्गे पुल लामो समयसम्म मर्मत नहुँदा सर्वसाधारण समस्यामा परेका थिए । झन्डै ६ दशकअघि निर्मित उक्त पुल मर्मतसम्भारको अभावमा जीर्ण बनेको थियो ।
जिल्ला विकास समितिले गत वर्षको झोलुङ्गे पुल मर्मत कार्यक्रमको रु तीन लाख २० हजारको लागतमा फलेक र नयाँ जाली फेरिएको हो । पुलमा रहेका पुराना काठका फलेक कुहिएर खसेपछि २०६६ सालयता स्थानीयवासीले उक्त पुलमा यात्रा गर्न छोडेका थिए । मुडिकुवा, शङ्करपोखरी, खौला, ठुलीपोखरी, आर्थर, थापाठानालगायत दश गाविसवासीले मृतकको दाहसंस्कारका लागि मोदीबेनी आउने पुलको यात्रा रोकिँदा यात्री कुस्मा हुँदै एक घन्टा लामो घुमाउरो यात्रा गर्न बाध्य थिए ।
“पुलका फलेक कुहिएको लामो समयसम्म हामीले मर्मतका लागि जिविसमा भन्यौँ”, स्थानीयवासी हरिदास बैरागीले भन्नुभयो, “जिविस धाउन थालेको पाँच वर्षपछि मर्मत भयो ।” जीर्ण पुलमा खच्चर तार्ने क्रममा केही वर्षअघि चारवटा खच्चर सामानसहित मोदीखोलामा खसेका थिए । त्यसयता कुनै मानवीय दुर्घटना नभए पनि यात्रा निकै जोखिमपूर्ण थियो । गत वैशाखमा सम्झौता भई गत साता सबै मर्मतको काम सकिएको निर्माण समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
“मर्मतको काम असारमै सकेका थियौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “दुईपट्टि लगाउने जाली समयमा नपाउँदा एक साता ढिला भयो ।” जिल्लाकै प्रसिद्ध तीर्थस्थल मोदीबेनीधाममा एकादशी, साउने सोमबारलगायत विशेष दिनमा आउने सयौँ भक्तजन सोही पुल हुँदै यात्रा गर्छन् । उक्त पुल मर्मतपछि शव दाहासंस्कारका लागि आउने र मोदीबेनीधाममा मेला भर्न आउने मलामी र तीर्थयात्रुलाई सहज भएको स्थानीयवासीको भनाइ छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया