विज्ञान र गणित विषयका दरबन्दी रिक्त हुँदा पठनपाठन प्रभावित

इनेप्लिज २०७२ साउन २१ गते १:४२ मा प्रकाशित

ilam_nepal_mapइलाम, २१ साउन । सरकारले बिना लाइसेन्सका शिक्षकलाई धमाधम हटाउन थालेपछि इलाममा विज्ञान र गणित विषयका धेरै दरबन्दी रिक्त भएका छन् ।

गतिण र विज्ञान विषयमा लाइसेन्स प्राप्त शिक्षक पाउन मुस्किल र बिना लाइसेन्स पढाउँदै आएका शिक्षक हटाइएपछि ५३ विद्यालय दरबन्दी रिक्त भएका हुन् । धेरै विद्यार्थी फेल हुने यिनै विषयका रिक्त दरबन्दी पदपूर्ति नहुँदा विद्यार्थी चिन्तित बन्न थालेका छन् ।

यही साउन १ गतेदेखि लाइसेन्स बिनाका शिक्षकलाई असारसम्मको तलब दिएर बिदा दिन जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विभागले निर्देशन दिएपछि धेरै विद्यालयमा गणित र विज्ञान विषयको दरबन्दी रिक्त बनेको हो ।

शान्तिपुर गाविसस्थित शशी मावि बदमटारमा विषय शिक्षक नहुँदा पठनपाठन हुन सकेको छैन । निमाविमा राहत कोटामा राखिएका शिक्षक बिदा भएपछि विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्तामा हुनुहुन्छ प्रअ हेमबहादुर कार्की । “प्रायः विद्यार्थी फेल हुने यी विषय शिक्षक हटाइदा अर्काे वर्षको प्रवेशिका परीक्षामा झनै विद्यार्थी फेल हुने भए”, प्रअ कार्की भन्नुहुन्छ, “निमा तहका शिक्षक मदन दर्जी विद्यालयबाट निस्किएपछि विद्यार्थीको भविष्य झनै अन्योल बनेको छ ।”

लामो समयदेखि बारम्बार विज्ञापन प्रकाशन गर्दासमेत निम्नमाध्यमिक र माध्यमिक तहमा ती विषयका शिक्षक नहुँदा पठनपाठनमा प्रत्यक्ष असर परेको छ । विषय शिक्षक नहुँदा केही विद्यालयमा विज्ञान र गणित विषयको पढाइ नै सुरु भएको छैन भने कसैमा एक चौथाइ मात्र पढाइ भएको विद्यालयले जनाएका छन् ।

विज्ञान र गणित पढाउन आइएससी तथा विएससी पढ्नुपर्ने र लाइसेन्स अनिवार्य बनाउनुपर्ने प्रावधान रहेकाले त्यस्ता शिक्षक भेट्न मुस्किल भएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम बताउनुहुन्छ । “राज्यले लिएको शिक्षक अवकाशको नीतिका कारण धेरै विद्यार्थीको भविष्य अन्धकार बनेको छ”, गौतम भन्नुहुन्छ, “चाँडै यो समस्याप्रति राज्य गम्भीर बन्नुपर्छ ।”

आइएससी/बिएससी अध्ययन गरेर लाइसेन्स बनाएका कतिपयले लोक सेवा आयोगमार्फत निजामती सेवामा प्रवेश गर्दा विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नियुक्त गर्न नसकिएको जिशिकाले जनाएको छ । आइएससी÷बिएससी दरबन्दीमा कार्यरत शिक्षक पनि धमाधम लोकसेवामार्फत निजामती सेवामा प्रवेश गरेका कारण धेरै विद्यालयमा विषयगत दरबन्दी रिक्त भएको गौतमको भनाइ छ ।

मावितर्फ २८० र निमावितर्फ ४२८ विज्ञान/गणित शिक्षकको दरबन्दी रहेको इलाममा साउन १ गतेदेखि ५३ विद्यालयमा दरबन्दी रिक्त भएका छन् । दरबन्दीका शिक्षक नहुँदा कतिपय विद्यालयमा बिएससी शिक्षकले निमावि र आइएससी शिक्षकले मावि तह अध्यापन गराउनुपर्ने बाध्यता छ । रिक्त दरबन्दीमा विद्यालयले शिक्षक नियुक्त गर्नु परेमा विद्यालयमा सोझै सम्पर्क गर्न समेत जिशिकाले इच्छुक उम्मेदवारलाई आग्रह गरेको जिशिअ गौतम बताउनुहुन्छ ।

प्रतिक्रिया