दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक

इनेप्लिज २०७२ साउन २० गते १५:४२ मा प्रकाशित

भीमदत्तनगर, २० साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जेठानी जानकी शाहका दुधे बालक कर्मा शाहलाई विष खुवाउने कञ्चनपुरको बेल्डाँडी गाविस–९ की २० वर्षीया काकी समिरा शाहलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले गत शनिबार समिराले आफ्नै सहोदर जेठानीले छोरालाई घरको बरन्डामा झुलामा राखेर गोरु चराउन गएका बेला दूधमा विष हालेर खुवाएकी थिइन् ।

“बालककी आमा झुलामा सुताएर जङ्गलमा गोरु चराउन हिँडेकी रहेछन्, ” पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दाहालले भन्नुभयो – “सोही मौकामा समिराले बालकलाई विष खुवाएको स्वीकार गरेकी छन् ।”

समिराले बालकलाई विष खुवाउनाका कारण समिराको घरायसी विवाद, आफ्नो छोरी र जेठानीको छोरा हुनु, घरमा बसेर जेठानीको छोराको समेत हेरचाह गर्नुपर्नेलगायत रहेको प्रहरीको भनाइ छ ।

बालकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत पठाइएको थियो । अहिले भारतमा बालकको अवस्था सामान्य भएपछि घर फिर्ता ल्याइसकिएको छ । समिराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया