स्वरोजगार कोषको रकम बालुवामा पानी

इनेप्लिज २०७२ साउन २० गते २:३६ मा प्रकाशित

ilam_nepal_mapइलाम, २० साउन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले लगानी गरेको रकम बालुवामा पानी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय इलामले दुई वर्षअघि इलाम नगरपालिकाका छजना साना युवा व्यवसायीलाई ऋण प्रवाह गरे पनि उनीहरुले अहिलेसम्म नियमित किस्ता नतिरेको, कसैले व्यवसाय नै सञ्चालन नगरेको पाइएको छ । बैंकले तीनजनालाई रु एक लाखका दरले र अर्का तीनजनालाई रु ५० हजारका दरले ऋण दिएको थियो ।

“इलाम नगरपालिका–५ का अशोक बस्नेतले इलेक्ट्रोनिक्स पसल नै बन्द गरेको अनुगमनका क्रममा पाइएको छ”, युवा तथा साना व्यवसायी स्वरोजगार कोष इलामका सदस्यसचिव हरि मैनालीले भन्नुभयो । साना व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न आर्थिक कठिनाइ नहोस् भनेर ऋण दिए पनि सरकारी लगानी बालुवामा पानी भएको छ ।

इलाम नगरपालिका–६ की सोमकुमारी गुरुङले बङ्गुरपालन व्यवसायका लागि ऋण रु ५० हजार, सोही स्थानकी रमा बाँस्कोटाले कुखुरापालन व्यवसायका लागि कोषमार्फत बैंकबाट रु ५० हजार ऋण लिए पनि सुरुदेखि नै किस्ता नबुझाएको मैनालीले बताउनुभयो ।

यस्तै इनपा–४ का पिपला रसाइलीले कुखुरापालनका लागि, इनपा–५ की रेवती राईले सिलाइकटाइ व्यवसायका लागि र इनपा–६ कै दलबहादुर खड्गीले कुखुरापालनका लागि रु एक÷एक लाखका दरले ऋण लिएका थिए । ऋण लिने कसैले पनि नियमित किस्ता नबुझाएकाले कारबाहीसम्म पुग्नुपर्ने अवस्था आएको मैनाली बताउनुहुन्छ ।

उनीहरुलाई ऋण तिर्न बारम्बार लिखित तथा मौखिक जानकारी गराए पनि अटेर गरेकाले स्वरोजगार कोषको नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकका प्रबन्धक बद्रीप्रसाद भट्टराईले बताउनुभयो ।

बैंकले व्यवसायीलाई १२ प्रतिशत वार्षिक ब्याजदरमा ऋण बिनाधितो ऋण लगानी गरेको थियो । उनीहरुलाई ऋण बुझाउन सात दिनको म्याद दिइएको र सात दिनभित्र पनि नआए स्थायी जायजेथाबाट, सो नभए नजिकका नातेदारबाट समेत असुल उपर गरिने युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ ।

प्रतिक्रिया