पच्चीस सहकारी संस्था खारेज

इनेप्लिज २०७२ साउन १९ गते ३:१६ मा प्रकाशित

ilam_nepal_mapइलाम, १९ साउन । डिभिजन सहकारी कार्यालय, इलामले निस्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका २५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

कार्यालयले इलामका १८ वटा, पाँचथरका पाँच र ताप्लेजुङका दुई वटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुद्देश्यीय, बचत तथा ऋण, विद्युत्, दुग्ध उत्पादक संस्था रहेका छन् ।

विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा रजिस्टारको कार्यालयमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले बताउनुभयो ।

सहकारी संस्थालाई बारम्बार मौका दिए पनि कार्यालयमा कागजात पेस नगरेकाले खारेज गर्नुपरेको उहाँको भनाइ छ ।

सहकारी ऐन २०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिस्टारसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने हुन्छ । डिभिजन सहकारी कार्यालयले स्थानीय पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचनामार्फत ९५ वटा सहकारी संस्थालाई सम्पर्क गर्न अनुरोध गरेको थियो ।

यस सूचनाको अलवा १५ दिने थप म्याद दिँदासमेत सहकारी सम्पर्कमा नआएका हुन् । कार्यालयले दिएको म्यादभित्र इलामका १०, पाँचथरका ३४ र ताप्लेजुङका २६ वटा सहकारी संस्थाले सम्पर्क गरी आफ्नो विवरण पेस गरेको तथा कतिपय सहकारी संस्थाले भने सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न रु एक लाख अनुदान लगेको कारण त्यस्ता सहकारीलाई खारेज नगरिएको डिभिजन कार्यालयका प्रमुख सहकारी अधिकृत दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया