पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च वितरण

इनेप्लिज २०७२ साउन १९ गते २:५९ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १९ साउन । म्याग्दीको मुदी र मुना गाविसमा पहिरोमा परी ज्यान गुमाएका तीन मृतकका आफन्तलाई हिजो यहाँ किरियाखर्च उपलब्ध गराइएको छ ।

यही साउन १३ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका मुदीका दलदेवी पुन, तीर्थमान घर्ती र मुनाका मेलिना पुनका परिवारलाई गाविस कार्यालयमार्फत सरकारका तर्फबाट रु ४० हजारका दरले किरियाखर्च उपलब्ध गराएको हो ।

मुदी–५ नेरवाङको गाखर्कको पहिरोमा परी मुदीका जीतबहादुर घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुन अझै बेपत्ता रहेका छन् ।

पहिरोमा परी बेपत्ता भएकाको आफन्तले बेपत्ताको जीवित भेटिने सम्भावना नरहेकाले परम्पराअनुसार किरियासमेत बसिसकेको अवस्थामा राज्यले दिने राहतका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

पहिरोका कारण सडक अवरुद्ध भएको, विद्युत्का पोल तथा तारमा क्षति पुगेको र झोलुङ्गे पुल बगाउँदा जनजीवन कष्टकर बनेको विषयमा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच सभासद्सहित प्राविधिकको टोलीले मुदी, मुनाको दर र कुनौटाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ । बस्ती माथिको जमिन धाँजा फाटेर बग्न थालेपछि जोखिममा परेको दरका बासिन्दालाई टोलीले सर्तकता अपनाउन आग्रह गरेको छ ।

बाढी पहिरोले गरेको क्षति र जोखिमको अवस्थाको विषयमा अध्ययन गरी थप धनजनको क्षति हुन नदिन सर्तकता अपनाउन र पीडितको राहतका लागि पहल गर्ने स्थलगत अनुगमनमा पुगेको सभासद् नवराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया