दुर्लभ सालक संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम

इनेप्लिज २०७२ साउन १९ गते २:४४ मा प्रकाशित

saalakबनेपा, १९ साउन । विश्वमा दुर्लभ मानिएको स्तनधारी जनावर सालकको संरक्षण गर्न काभ्रेपलाञ्चोकमा जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।

काभ्रेपलाञ्चोकको महाभारत शङ्खलासँग जोडिएका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित वासस्थान भएकाले सालकको छाला तथा खपटा तस्करीका लागि र मानव समुदायलाई आक्रमण गर्ने बहानामा यसको संरक्षणमा ध्यान नदिएकाले जनचेतनामूलक कार्यक्रमका साथै पोस्टरिङलगायतका कार्यक्रम भइरहेको नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले जनाएको छ ।

संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक वासस्थान सुरक्षित नभए आगामी १५ वर्षभित्रमा लोप हुनसक्ने अवस्था रहेको परिषद्की अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिनुभयो ।

यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा पनि सहयोग गर्छ उहाँले भन्नुभयो ।

जिल्लाका अधिकांश सामुदायिक वनमा पाइने दुर्लभ सालक काभ्रेपलाञ्चोकमा कति छन् भन्ने स्पष्ट कुनै तथ्याङ्क नभए पनि खास गरी कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क गाविसका सामुदायिक वनमा सुरक्षित वासस्थान रहेको अनुसन्धानकर्ता कसपालले बताउनुभयो ।

विस्तृत अध्ययन गर्न अझै बाँकी छ तर जिल्लाका विभिन्न सामुदायिक वनमा सालक छ भन्ने कुरा खुलेको छ उहाँको भनाइ छ । विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइन्छ ।

दुर्लभ कालो सालक अति सङ्कटापन्न अवस्थाको सूचीमा छ अनुसन्धानकर्ता कसपालले भन्नुभयो ।

उहाँले वातावरण सन्तुलन र नियन्त्रणमा सालकको भूमिका रहेको औँल्याउँदै कृषिका लागिसमेत सालक उपयोगी भएको बताउनुभयो । यसको छाला र खपटाको तस्करी व्यापक छ त्यसैले पनि दुर्लभ सालकको संरक्षण जरुरी छ कसपालको भनाइ छ ।

जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोका प्रमुख गणेश रायले जिल्लामा कति सालक छन् भन्ने तथ्याङ्क नभए पनि अधिकांश सामुदायिक वनमा सालक छ भन्नुभयो ।

प्रतिक्रिया