१५ विद्यालयमा पुस्तकालय स्थापना
बलेवा (बागलुङ), १८ साउन । गुणस्तरीय शिक्षामा सहयोग पुर्याउन बागलुङ जिल्लाका १५ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला शिक्षा कार्यालयको अनुदान सहयोगमा चालु आवमा १५ वटा पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालय स्थापनाका लागि प्रतिविद्यालयलाई रु एक लाखका दरले अनुदान दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘नियमित पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न सकिँदैन” जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले भन्नुभयो “पुस्तकालयले शिक्षक, विद्यार्थी तथा अभिभावकको ज्ञानको दायरा बढाउन टेवा पुर्याउने भएका कारण पुस्तकालय स्थापनामा जोड दिएका छौँ ।” पुस्तकालयबाट प्राप्त गर्ने ज्ञानले मात्रै विद्यार्थीमा आधुनिक समयअनुसार जिउने कला सिक्ने तिवारीको भनाइ छ ।
उहाँका अनुसार जिल्लाका सात वटा उच्च मावि र आठ वटा माविले कार्यालयबाट अनुदान पाएर पुस्तकालय सञ्चालन गरेका छन् । यो वर्ष जिल्लाका सरस्वती उच्च मावि दुदिलाभाटी, सुन्तलाचौर उच्च मावि दमेक, लेखानी उच्च मावि लेखानी, हरि उच्च मावि हिल, लक्ष्मी उच्च मावि धम्जा, जनकल्याण उच्च मावि छिस्ती, त्रिभुवन उच्च मावि पैयुपाटालगायतका गरी १५ विद्यालयमा पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले बर्सेनि पुस्तकालय स्थापनाका लागि विद्यालयलाई अनुदान दिँदै आएको छ । “जिल्लाका अधिकांश विद्यालयमा पुस्तकालय स्थापना भएका छन्” तिवारीले भन्नुभयो, “पुस्तकालय स्थापना नभएका विद्यालयलाई समेत समेट्ने गरी कार्यक्रम सञ्चालन भइरहेका छन् ।” जिल्लामा शिक्षा कार्यालयसँगको समन्वयमा विभिन्न गैरसरकारी सङ्घसंस्था र दातृ निकायको सहयोगमा पुस्तकालय सञ्चालित छन् ।
कार्यालय एक्लैले असम्भव भएपछि समन्वय गरेका सङ्घ संस्थासँग सहकार्य गरेर विद्युतीय पुस्तकालयसमेत सञ्चालन गरिएको तिवारीले बताउनुभयो ।
“जिल्लाका दुर्गम मनिएका ग्रामीण क्षेत्रका विद्यालयमा नमुना विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ” तिवारीले भन्नुभयो “पुस्तकालयबाट पाउने ज्ञानका कारण विद्यार्थीमा मनो–सामाजिक प्रभावसमेत उल्लेख्य वृद्धि भएको छ ।”
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया