अधिकतम दलको सहमतिमा संविधान जारी गरिन्छ: नेपाल

इनेप्लिज २०७२ साउन १८ गते १३:४७ मा प्रकाशित

Madhav_Kumar_Nepal2काठमाडौँ, १८ साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले जनताबाट प्राप्त सुझावलाई अधिकतम समेट्ने र अधिकतम दलको सहमतिमा संविधान जारी गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ ।

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीसँग आज आफ्नो निवासमा भएको भेटमा उहाँले स्थानीय निकायको निर्वाचन नहुँदा विनाशकारी भूकम्पपछि उद्धार, राहत तथा पुनःनिर्माणलगायत काममा बाधा उत्पन्न भएकाले सो निर्वाचन सम्पन्न गरी लोकतन्त्रको आधारशिला बलियो बनाउन आफू प्रयत्नशील रहेको जानकारी पनि दिनुभयो ।

सो अवसरमा राजदूत बोडीले संविधान निर्माणका समस्या, त्यसमा लाग्ने समय, अन्य दलसँगको समझदारीलगायत विषयमा जिज्ञासा राख्नाका साथै भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक संरचना निर्माण हुने समयसीमाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, संविधान जारी हुने समय, भूकम्पपछिको पुनःनिर्माण र यसका लागि आवश्यक संरचनाको निर्माण तथा नेपालले आगामी दिनमा लिने बाटाका विषयमा कुराकानी भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया