मोदीखोला जलविद्युत् आयोजना सञ्चालन

इनेप्लिज २०७२ साउन १८ गते १:४९ मा प्रकाशित

badhi-modi-final-fialफलेवास (पर्वत), १८ साउन । अविरल वर्षाका कारण मोदीखोलामा बाढी आउँदा बाढी पहिरोका कारण बन्द भएको पर्वतको पातीचौरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन सुरु भएको छ ।

आयोजनाको इन्टेकमा बाढीले जम्मा गरेको ट्रयास र्‍याक सफा गर्ने तथा क्षतिग्रस्त प्रसारणलाईन मर्मत पछि विद्युत् उत्पादन सुरु भएको हो ।

पर्वतको तिलहार गाविस–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि बुधबार रातिदेखि विद्युत् उत्पादन बन्द भएको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको आयोजनाबाट मर्मत पछि १० मेघावाट विद्युत् उत्पादन भएको छ ।

पहिरोले अवरुद्ध पोखरा बागलुङ राजमार्ग मर्मत पछि क्षतिग्रस्त प्रसारण लाइन मर्मत गरी विद्युत् उत्पादन सुरु गरिएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । यसैगरी मोदीखोलामा आएको बाढीले चुवास्थित विद्युत् गृहमा क्षति पुर्‍याएपछि १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।

बाढीले विद्युत् गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर विद्युत् गृहमा नै बाढी पसेपछि बन्द भएको सो आयोजना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने छ ।
आयोजनामा रु ३० करोडको क्षति भएको आयोजना निर्देशक उपेन्द्र गौतमले बताउनुभयो ।

प्रतिक्रिया