वर्षाले सय रोपनी धानखेत बगायो

इनेप्लिज २०७२ साउन १७ गते १०:४६ मा प्रकाशित

barshaफलेवास (पर्वत), १७ साउन । गत बुधबार राति आएको मुसलधारे वर्षाका कारण यहाँको एक गाउँका किसानले लगाएको झन्डै एक सय रोपनी धानखेत बगाएको छ ।

पर्वतको तिलाहार गाविस–९ थामर्जुङका ३५ जना किसानको १०० रोपनी खेत पहिरोले बगाएको हो । केही महिनाअघि उक्त फाँट हुँदै खनिएको सडकका कारण पहिरो गएको र पहिरोले पूरै धानखेत बगाएको स्थानीयवासी किसान चन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

पोखरा–बागलुङ सडकखण्डभन्दा माथि रहेको उक्त खेत बाढीले बगाउँदा राजमार्गसमेत ३५ घन्टा अवरुद्ध बनेको थियो । अहिले उक्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

मानो रोपेर मुरी फलाउनका लागि असारमै रोपाइँ गरेका किसानले सबै खेत बगाएपछि चिन्तित बनेका छन् । पहिरोले बगाएको जग्गामा असारमै स्थानीय किसानले धानखेती गरिसकेका थिए ।

उक्त खेतमा धानखेतीलगायत गहुँ, तोरी, मकैलगायतका अन्नसमेत राम्रो उब्जाउ हुने गर्छ ।

स्थानीयवासी सीता खत्री, अमरबहादुर खत्री, भीमबहादुर केसी, मानकुमारी बस्नेत, गणेश खत्रीलगायतले बाढीले खेत बगाएपछि समस्यामा परेको र फेरि त्यसलाई खेत बनाएर रोप्न सकिने अवस्था नभएकाले भोकमरीको अवस्था सिर्जना हुने गुनासो गरेका छन् । उनीहरुले राज्यले क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्ने मागसमेत गरेका छन् ।

उक्त जग्गामा भूकम्पका कारण ठाउँठाउँमा दरार र धाँजा फाटेको थियो । त्यस्तै अवस्थामा पनि स्थानीयले जोखिम मोलेर रोपाइँ गरेका थिए । पहिरोमा बगेको उक्त खेत पोखरा–बागलुङ राजमार्गदेखि झन्डै पाँच मिटरको दूरीको पहाडमाथि रहेको छ ।

थामार्जुङ गाउँमा डोजर प्रयोग गरी खनिएको कच्ची सडकसमेत पहिरोले बगाएको छ । पहिरो जानुको मुख्य कारण नै सडक भएको पीडित किसानको अनुमान रहेको छ ।

प्रतिक्रिया