भदौ एकमा संविधान जारी गर्नुपर्छ: मन्त्री बस्नेत
भक्तपुर, १७ साउन । उद्योग मन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १ गतेभित्र आउने बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उहाँले साउन महिनाको ३२ गते नयाँ संविधान जारी गर्ने तयारी भइरहेको उल्लेख गर्नु भयो ।
मन्त्री बस्नेतले भन्नुभयो – “साउन ३२ गते संविधान जारी गर्ने तयारी भएको छ, संविधान जारी भएको दिन ऐतिहासिक दिन भएकाले हरेक वर्ष यो दिनको सम्झना गर्न आगामी वर्षहरुमा साउनको महिना ३२ गतेकै हुन्छ भन्ने छैन, त्यसैले भदौ १ गते संविधान जारी गर्नु उपयुक्त हुन्छ ।”
मधेसका केही दलहरुले मधेसलाई सधैं पछाडि पारिएको भन्दै मधेसको छुट्टै प्रदेश बन्नुपर्ने माग राखिरहे पनि यसो गर्दा हिमाल र पहाडलाई अन्याय पर्नसक्ने भएकाले प्रदेशलाई मिलाएरै विभाजन गर्नुपर्ने उहाँको धारणा छ ।
केही मधेसवादी दलहरुमा तराईका मोरङ, सुनसरी, झापा, कञ्चनपुर र कैलाली कुन प्रदेशमा राख्ने भन्नेमा अझै समझदारी बन्न नसकेको उल्लेख गर्दै उहाँले विश्वासको वातावरण बनाउन सके प्रदेशको सीमाङ्कनमा समस्या नआउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समितिका अध्यक्ष पशुपतिबाबु पुरीले भक्तपुरलाई साउनभित्रमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने बताउँदै भक्तपुरलाई अब पूर्ण सरसफाइ, पूर्ण खोपयुक्त, पूर्ण बालश्रममुक्त जिल्ला घोषणा गर्ने तयारी भएको बताउनुभयो ।
कार्यक्रममा ८० वर्षकी नागरिक नानीछोरी कायस्थले आफ्नो नाम र उमेर लेखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेललाई प्रमुख अतिथि र मन्त्री बस्नेतलाई अतिथि बनाउनुपर्ने नेपाली काँग्रेस नगर समितिको मागलाई नगरपालिका कार्यकारी अधिकृतले नमानी मन्त्री बस्नेतलाई नै प्रमुख अतिथि बनाएपछि नेपाली काँग्रेसले कार्यक्रम बहिष्कार गरेको थियो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया