संरक्षणको पर्खाइमा चैकोट दरबार

इनेप्लिज २०७२ साउन १७ गते ९:४१ मा प्रकाशित

भीमदत्तनगर, १७ साउन । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परापूर्वकालमा निर्मित चैकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । ब्रह्मदेव राजाले विसं १८७० मा निर्माण गरेको चैकोट वा जैकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको हो । 

तत्कालीन राजा ब्रह्मदेवले राज्य विस्तारका क्रममा डडेल्धुरा जिल्लाको महाभारतपर्वतदेखि पश्चिम दक्षिणमा पर्ने थपला र चौडको बीचमा रहेको खोलामा निर्माण गरेको चैकोट दरबार प्रचार प्रसारको अभावमा खण्डहरमा परिणत भएको स्थानीय बासिन्दाले बताएका छन् ।

विभिन्न कलाकृतिले सु–सज्जित चैकोट दरबार र किलाको संरक्षण र प्रचार प्रसारको अभावमा आझेलमा परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । चैकोट महलका ढुङ्गा र काठमा बनाइएको विचित्र कलाकारिता जनता र सरकारबाट संरक्षण नहुँदा किल्ला र महल भग्नावशेषमा परिणत भएको छ ।

कञ्चनपुरदेखि डोटीसम्म राज्य विस्तार गर्ने क्रममा सुरक्षित स्थान देखेर चैकोट दरवार स्थापना गर्ने कार्य सुरु गरेको किंवदन्ती रहेको छ ।

चैकोट दरबार नजिकै अनौठो गुफासमेत रहेको छ । सुरक्षित र मनोरञ्जनात्मक ठाउँ चैकोट देखेर ब्रह्मदेवले चैकोट दरबारको निर्माण गरेको स्थानीय जानकार डा खगराज चटौतले बताउनुभयो ।

प्रतिक्रिया