उन्नत बीउबिजन कार्यक्रममा २७ प्रतिशत लक्ष्य हासिल

इनेप्लिज २०७२ साउन १६ गते ९:४५ मा प्रकाशित

बुटवल (खस्यौली), १६ साउन । कृषि र पशुको क्षेत्रमा काम गर्दै आएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले २७ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

सन् २०१२ देखि कृषि र पशुको क्षेत्रमा काम गर्दै आएको आयोजनाले करिब ३२ महिनाको अवधिमा २७ प्रतिशत लक्ष्य हासिल गरेको कार्यक्रम प्रमुख लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

विसं २०१५ मा एक लाख ५० हजार घरधुरीमा काम गर्ने लक्ष्य लिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत ३२ महिनाको अवधिमा २० हजार ५६२ घरधुरी लाभान्वित भएको बताइएको छ । जसअन्तर्गत महिला चार हजार ७८५, दलित दुई हजार ७१३ र जनजाति चार हजार ८३८ लाभान्वित भएका छन् ।

कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान र रुकुमलगायतका छवटा जिल्लामा काम गर्दै आएको छ । यो कार्यक्रम लागू भएका जिल्लामा दिगो, बजार लक्षित कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण परिवारको आयआर्जनमा वृद्धि गर्ने वस्तुगत उद्देश्य कार्यक्रमले लिएको छ ।

यस्तै कार्यक्रमले यथार्थ सांकेतिक बीउको उत्पादन वृद्धि गर्दै औपचारिक बीउ क्षेत्रको बजार प्रवद्र्धन, बजार तथा सडक सञ्जाल क्षेत्र नजिक रहेका साना पशुपालक कृषकको पशुधनको उत्पादकत्व वृद्धि गर्ने तथा साना कृषकलाई दिगो सेवा प्रदान गर्न ग्रामीणस्तरमा सञ्चालित संस्थाको क्षमता वृद्धि गर्ने निश्चित उद्देश्य लिएको छ ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच २ डिसेम्बर २०१२ मा सम्झौता भएको यो कार्यक्रम ३१ डिसेम्बर २०१९ सम्म सञ्चालन हुने कार्यक्रमका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कृषि उद्यम केन्द्र, साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय महासङ्घ, हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको साझेदारीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शङ्करनगर कार्यालयबाट किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले कृषि र पशुको क्षेत्रमा कार्यक्रम चलाउँदै आएको छ ।

पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा बसोबास गर्ने समुदायलाई बीउबिजन विस्तार एवम् पशुपालनको व्यावसायीकरण गरी ग्रामीण क्षेत्रको विकासलाई दिगो बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

प्रतिक्रिया