विराटनगर, १६ साउन । मोरङमा नक्कली सुनको गहना बन्धकी राखेर ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाहुनी–६ की २५ वर्षीया हेमकुमारी चौधरी र सुन्दरदुलारी–४ का २७ वर्षीय कर्णबहादुर विकलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कोसीहरंैचा नगरपालिका–४ विराटचोकका मीनबहादुर गहतराजको सुन पसलमा बन्धकी राख्नका लागि ल्याएका सुनको बालालाई पसलेले जाँच गर्दा चाँदीको गहनामा सुनको जलप लगाएको थाहा पाएपछि उनीहरु गहना छाडेर फरार भएका थिए ।
उनीहरुले सुनका चार पसलमा चाँदीका गहनामा सुनको जलप लगाएर सुन पसलमा बन्धकी राखी ठगी गरेको अनुसन्धानबाट खुलेको छ । यसअघि उनीहरुले पथरीस्थित सुनका दुई पसलमा प्रतिबाला रु ४५ हजारका दरले रु एक लाख ३५ हजार र बेलबारी–२ स्थित रायमाझी सुन पसलबाट एक थाना बाला बन्धकी राखेर रु ४५ हजार ठगी गरेको अभियोग लगाइएको छ ।
त्यसैगरी कोसीहरंैचा–६ स्थित विवाह ज्वेलर्समा एक थान चुरा राखेर रु ४५ हजार र बेलबारी–३ स्थित न्यु बराह ज्वेलर्समा एक थान नक्कली सुनको चुरा राखेर रु ४५ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उक्त ठगीमा बाहुनी–६ का ३४ वर्षीय वीरबहादुर विक र कोसीहरंैचास्थित पञ्चकन्या ज्वेलर्सका सञ्चालक मनोज विकको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरु फरार छन् ।
सुरुङ्गा (झापा)–एक हजार रुपैयाँको नक्कली भारु नोटसहित एक व्यक्ति झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ६ निवासी २५ वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आज बिहान मेनपा– ५ स्थित फरम टोलमा सञ्चालित एक किराना पसलमा सामान किन्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले ठूलो परिमाणको नक्कली नोटसहित झापाको राजगढबाट तीन जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया