गिद्ध संरक्षणका लागि पञ्चवर्षीय कार्ययोजना लागू

इनेप्लिज २०७२ साउन १५ गते १४:२९ मा प्रकाशित

A-flock-of-vulturesकाठमाडौँ, १५ साउन । गिद्धको सङ्ख्यामा नाटकीय रुपमा कमी आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्ध संरक्षणका लागि ‘पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना (सन् २०१५–२०१९)’ लागू गरेको छ ।

नेपालमा पाइने सङ्कटापन्न चरामध्ये गिद्ध प्रजातिको चरा एक हो । गिद्धलाई लोप हुनबाट जोगाउन विभागले विभिन्न संरक्षण साझेदार संस्थासँग मिलेर पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना स्वीकृत गरी लागू गरेको हो ।

कार्ययोजनाले आगामी पाँच वर्षमा गिद्धको सुरक्षित खाना र उपयुक्त बासस्थानको संरक्षणमार्फत गिद्धको सङ्ख्यामा वृद्धि गर्ने लक्ष्य राखेको विभागका प्रवक्ता डा महेश्वर ढकालले बताउनुभयो ।

कार्ययोजना कार्यान्वयन भएपश्चात लोप हुन लागेका प्रजातिको गिद्धको आहारामा नकारात्मक असर पार्ने औषधिको नियन्त्रण भई गिद्धको सङ्ख्यामा वृद्धि हुने प्रवक्ता ढकालले जानकारी गराउनुभयो ।

पाँच वर्षमा करिब रु ११ करोड लाग्ने अनुमान गरिएको कार्ययोजनामा पशु सेवा विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवम् प्राविधिक सहयोग रहने छ ।

गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा पनि लिइन्छ । वैज्ञानिकका अनुसार एउटा गिद्ध आफ्नो आहारा खोजीका लागि सय किलोमिटर क्षेत्रमा उड्ने गर्दछ । नेपालमा नौ किसिमका गिद्ध पाइन्छन् । त्यसमध्ये एक डङ्गर प्रजातिको गिद्ध लोपोन्मुख अवस्थामा रहेको छ ।

नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्धको सङ्ख्यामा ह्रास आउनुको प्रमुख कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएको छ । कार्ययोजना लागू भएपछि जनचेतना अभिवृद्धि भई गिद्ध र यसको बासस्थान संरक्षण गर्न सहयोग पुग्ने नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत खडानन्द पौडेलले बताउनुभयो ।

गिद्ध संरक्षण कार्यक्रम अधिकृत पौडेलका अनुसार कार्ययोजनाले सरकारीका साथै गैरसरकारी तथा स्थानीय समुदायसमेतको साझेदारीमा अघि बढ्ने गिद्ध संरक्षण कार्य प्रभावकारी हुनेछ । गिद्धलाई लोप हुनबाट जोगाउन विभागले यसअघि गिद्ध संरक्षण कार्ययोजना (सन् २००९–२०१३) लागू गरेको थियो । यस योजनाबाट गिद्ध संरक्षण कार्यको सुरुवात भएको र यसमा रहेका कमीकमजोरीबाट पाठ सिकेर आगामी योजनामा प्रभावकारी काम गर्ने विभागको लक्ष्य छ ।

कार्ययोजना लागू भएपछि पाँच वर्षमा नेपाल गिद्धको बासस्थान डाइक्लोफेनेक औषधि (गाई वस्तुलाई दुःखाई कम गर्न खुवाइने औषधि) मुक्त हुने जैविक विविधता संरक्षण केन्द्रका कार्यक्रम संयोजक डा चिरिञ्जीवीप्रसाद पोखरेलले भनाइ छ । हाल ४६ जिल्लामा गिद्धको बासस्थान विषादीरहित घोषणा गरिएको छ ।

नेपालले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा बासस्थान संरक्षणसमेत गर्दै आएको छ भने नवलपरासीमा जटायु(गिद्ध) रेस्टुराँको स्थापना गरिएको छ ।

गिद्धको बासस्थानलाई सुरक्षित बनाएपछि गिद्ध संरक्षण प्रजनन केन्द्रमा पालिएका गिद्धबाट जन्मेका बच्चा जङ्गलमा छोड्न पहल गरिने कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो ।

पछिल्लो अध्ययनअनुसार सन् १९९० को दशकदेखि हालसम्म दक्षिण एसियामा गिद्धको सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ । विगत १५ वर्षमा भारतमा डङ्गर गिद्धको सङ्ख्यामा ९९.९ प्रतिशत र नेपालमा १० वर्षको अवधिमा ९१ प्रतिशतले कमी आएको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया