बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:५७
वासिङटन डिसी 14:12

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहका पाँच बुँदा

इनेप्लिज २०७२ साउन १४ गते ११:१४ मा प्रकाशित

11754670_10206115629023920_3929803029227510899_oरूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२–यौं भानुजयन्ती समारोह सफलतापूर्वक सुसम्पन्न भएको छ । नेपाली पाठकवृन्दको निम्ति संक्षेपमा त्यसको विवरण निम्न पाँच बुँदामा समेटने प्रयास गर्दै छु ।

१. रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूको प्रमुख अतिथ्य तथा कृष्णप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको शुभारम्भमै विश्व नेपाली साहित्य महासंघ रुस शाखाका सचिव डा. मनमूर्ति भुर्तेलबाट आदिकवि भानुभक्त आचार्यको कवितापाठसहित  भानुभक्तको तस्वीरमा पुष्पाञ्जलि अर्पण गरिएपछि व्यवस्थापन समितिको तर्पmबाट गणेश रामदामबाट स्वागत मन्तव्य दिइयो भने गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतो, यसै संघका अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का कोषाध्यक्ष डा. बद्री के.सी., आईसीसीका सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, एनआरएनए रूसका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य, प्रथम अध्यक्ष डा. सूर्यप्रसाद रिजाल, नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसाद, नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतम, नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का अध्यक्ष उत्तम लामिछानेबाट भानुभक्तको व्यक्तित्व र कृतित्वका विभिन्न पक्षहरूबारे प्रकाश पार्दै मन्तव्य दिइएको थियो ।

11038806_10206115627583884_3656323764279242669_o
आफ्नो स्थापनाकै समयमा सन् २००३ मा नेपाली नारीनिकुञ्जले मास्कोमा आदिकविको जन्मजयन्ती मनाउने परम्पराको थालनी गरेको थियो भनी डा. समता प्रसादले सम्झना गर्नुभएको थियो भने रामेश्वर गौतमले तनहुँमा भग्नावशेष बन्न लागिरहेको आदिकविको जन्मस्थलको  घरघरेडीको पुनर्निर्माणतर्पm ध्यानाकर्षण गर्नुभएको थियो । डा. उपेन्द्र महतोले आदिकविको जनसेवाको भावनाबाट हामीले शिक्षा लिनुपर्ने कुरामा जोड दिनुभयो भने डा. बद्री के.सीं, डा. सूर्यप्रसाद रिजाल प्रभृतिले आदिकविबाट दुई शताब्दी अगाडि लेखिएका कविताहरू अहिले पनि समसामयिक महत्वका छन् भनी जोड दिनुभएको थियो । गोविन्दप्रसाद गौतमले भानुजयन्तीको सन्दर्भमा नेपाली र रूसी भाषामा पुस्तकहरुको प्रकाशनको चर्चा गर्नुभएको थियो भने डा. मणिराज पोखरेलले भारत र नेपालपछि आदिकविको प्रतिमा स्थापन गर्नमा रूस विश्वको तेस्रो देश बनेकोमा रूसवासी नेपालीहरू गौरवान्वित भएको भावना पोख्नुभएको थियो ।रूसी कवयित्री ल्युदमिला एभ्देएभाले नेपाली कविहरुप्रति समर्पित कविता पाठगरेकी थिइन् । ‘नेपाली खाङ्मयका भानु’ शीर्षकको संग्रहमा समाविष्ट हाम्रा आदिकविप्रति समर्पित उनको काव्यबाट नेपालीमा अनूदित केही पंक्ति यहाँ उद्धृत गर्न चाहन्छु

IMG_2899
मान्छेको हितका लागि बाँचेथे भानुभक्त ती,
त्यसैले आज नेपालीमाझ छन् मान्य ती अति ।
मनाइँदैछ सर्वत्र उन्को द्विशतवार्षिक,
सूर्यभैंm चम्किलो उन्को नाम बन्दैछ सार्थक ।।.
एक्काईसौ शताब्दीमा गुञ्जन्छन् कविता यहाँ,
विभिन्न जनजातिका भाषा र भावमा यहाँ ।
ज्यादै निकटभैंm लाग्छ उन्को कार्य र चिन्तन,
आकांक्षा मुक्तिको मात्रै तिन्मा सुनिन्छ गुञ्जन ।।
विभिन्न ठाउँमा पुग्छन् बनेर प्रतिमा उनी,
आबालबनितावृद्ध पढ्दछन् कविता पनि ।
उन्को कृतित्व केलाई लेखिन्छन् ग्रन्थ केकति,
धमिलो कहिल्यै हुन्न विशिष्ट कविको स्मृति ।।  
कालुगामा रह्यो उन्को आवक्ष–प्रतिमा अतः,
गर्नेछन् रूसमा उन्ले सूर्यको अब स्वागत ।
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको जुन स्थान छ त्यत्तिकै महत्वपूर्ण स्थान बोलचालको साझा भाषालाई साहित्यिक भाषाको स्तरसम्म उचालेर नेपाली जनभावनाको एकत्वको सुदृढीकरणमा गहकिलो योगदान पु¥याउने आदिकवि भानुभक्तको छ भन्ने भावाभिव्यक्ति महामहिमज्यूलगायत सबैबाट प्रकट गरिएको थियो ।

IMG_2903 २. पोहोर सालभैmं यसपल्ट पनि भानुजयन्तीको उपलक्ष्यमा आयोजित कविता प्रतियोगिता र आशुकविता लेखन प्रतियोगितामा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी दुवै प्रतियोगितामा प्रस्तुत कविताहरूको मूल्याङ्कनका लागि कृष्णप्रकाश श्रेष्ठकै अध्यक्षतामा डा. सुलोचना सापकोटा, डा. बद्री के.सीं, डा. मणिराज पोखरेल समाविष्ट एक मूल्याङकन समिति गठन गरिएको थियो र दुवै प्रतियोगितामा कमला रावल पाण्डे तथा डा. उमेशप्रसाद भट्टराईले नै आलोपालो गरी प्रथम र द्वितीय स्थान प्राप्त गरेर पुरस्कृत भएका थिए भने तीन दिदी र एक भाइ रिजाल–बालबालिका आन्जेलिका, मार्गारिता, भेरानिका तथा आन्तोनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

11713660_10206115620023695_6233657969044819974_o
३. रूसमा भानु–समारोहप्रति समर्पित पुस्तकहरूमध्ये भर्खरै प्रकाशित दुई पुस्तकको विमोचन यस साहित्यिक कार्यक्रमको एक आकर्षक बुँदा थियो भन्नु उपयुक्त हुनेछ । यो पनि बताइहालौं कि रूसी विद्वान्हरूका नेपालविषयक विभिन्न लेखहरूको सँगालो ‘रूसमा नेपालको बिम्ब’ भन्ने शीर्षकमा उत्तमकुमार अमात्यको प्रकाशन–सहयोगमा छापिएको छ भने नेपालको साहित्य तथा संस्कृतिविषयक रूसी भाषामा पूर्वप्रकाशित केही कृतिहरूसहित कृष्णप्रकाश श्रेष्ठका लेखहरूको संकलन ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’ शीर्षकमा निस्केको छ । पहिलो १५२ पृष्ठको पुस्तकमा सेर्गेइ ओल्डेनबुर्ग (केही नेपाली सूक्ष्मचित्रबारे संक्षिप्त टिप्पणी), दिमित्री निकोलायेभिच लेल्युखिन (काठमाडौं उपत्यकामा लिच्छवि वंशको आगमनको मार्ग र नेपालमा यस वंशको राज्य–स्थापनाको इतिवृत्त), निकोलाइ लिस्तोपादोभ (नेपालमा बुद्धधर्मको अध्ययन–स्तरसम्बन्धी प्रश्नको सन्दर्भमा), ताच्याना मोरोजोभा (नेपालको लोकसंस्वृmति र पेशागत कला ः परम्पराहरुको सम्भावित अन्तरसम्बन्ध), इन्ना मुरिआन (बीसौं शताब्दीको सन् १९६०–१९८० का दशकहरुमा नयाँ नेपाली संस्वृmतिको प्रादुर्भावबारे), तात्याना शाउम्यान (नेपाल र चीनबीच सीमाविवादको समाधान), सेर्गेइ लुन्योभ (नेपाल–भारत सम्बन्धको साठी वर्ष),  भालेरी काशिन (विश्वविख्यात गोर्खाली सिपाहींको उत्वृmष्ट गुण), ओलेग फ्योदोरोभ (नेपालको उच्चपर्वतीय क्षेत्रको पर्यावरण ः हिमालयको हिउँ पग्लने प्रव्रिmयाको सन्दर्भमा) र अलेक्सान्द्र लेद्कोभ (उपसंहारको सट्टा ः ‘रुसमा नेपालको छवि’) आदिका उपरोक्त लेखहरूका साथै परिशिष्टमा चाहिं लक्ष्मीप्रसाद देवकोटाको कवितासङ्ग्रह ‘सुनको बिहान’ र ‘नेपालको इतिहास ः बीसौं शताब्दी’ पुस्तक विमोचन, नेपालविषयक वैज्ञानिक सभा–सम्मेलनहरूको संक्षिप्त विवरण पनि प्रस्तुत गरिएको छ । अनि ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’ शीर्षक बोकेको २४८ पृष्ठको दोस्रो पुस्तकमा चाहिं नेपालको राष्ट्रिय झन्डाका राजनीतिक तथा सांस्वृmतिक पक्षहरु, नेपाल ः हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर,. नेपालमण्डलको आध्यात्मिक रक्षाकवच, इतिहास र संस्वृmतिको परिप्रेक्ष्यमा नेपालका परम्परागत किल्लाहरु, नेपालमा परम्परागत भोजको विधि, बोल्ने ढुङ्गाहरुको कथा, नेपालका प्रथम ज्ञात कवि अनुपरम, नेपालका प्रथम ज्ञात राजाकवि जयदेव द्वितीय, लिच्छविकालीन प्रतिभावान् कवि बुद्धकीर्ति, गीताको दार्शनिक र साहित्यिक महत्व, किरात जातिको धार्मिक एवं न्यायिक ग्रन्थ ‘मुन्धुम’, स्वस्थानी ः नेपाली चिन्तनको विशिष्ट ग्रन्थ र मौलिक देवी, कुमारीको रुपमा चण्डेश्वरीको चित्रण, महाकवि देवकोटावृmत ‘मुनामदन’ को कथास्रोत र दागेस्तानी कवि रासुल हाम्जतोभको काव्यमा नेपाल भन्ने शीर्षकका ११ लेखहरू समावेश गरिएका छन् ।

IMG_2911 ४. विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा कृष्णप्रकाश श्रेष्ठलाई ‘नेपाली साहित्य दूत २०१४ (सगरमाथा) स्ष्टासम्मानबाट विभूषित गरिनुलाई यस वर्षको भानुजयन्ती समारोहको एक बेग्लै बुँदाको रूपमा लिनु पर्ला । यस पंक्तिकारलाई यस्तो सम्मानको सगरमाथामा चढाउनमा रूसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरूले ‘शेर्पा’ को भूमिका निर्वाह गरेको अभिव्यक्ति दिंदै सन् १९५३ को मेई महिनामा सर्वप्रथम भई सगरमाथा विजय गर्ने पर्वतारोहीद्वय तेन्जिङ् नोर्गे शेर्पा र एडमुण्ड हिलारीलाई हात्तीमा चढाएर ल्याई काठमाडौंमा भव्य स्वागत गरिंदा आपूmले पनि डिल्लीबजारदेखि साथ दिंदै नारायणहिटी दर्बारको भित्री आँगनसम्म पु¥याएको अविस्मरणीय संस्मरण सुनाएको थिएँ ।
५. ग्रीष्मकालीन मास्कोको मनोरम पार्कभित्र भेला भएका रूसवासी नेपालीहरूले नेपालको इतिहासमा सर्वप्रथम जनसहभागिताबाट बन्न लागिरहेको नयाँ संविधानको मस्यौदामा छलफल गर्ने अवसरको पनि सदुपयोग गरेका थिए । मास्कोमा सानो नेपालको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्षेत्रबाट आएका रूसवासी नेपालीहरूद्वारा भानुजयन्ती मनाउने क्रममा मातृभूमिको मूल कानूनबारे व्यापक विचारविमर्श गरिनु निकै प्रतीकात्मक छ भन्ने मलाई लाग्छ ।
यसरी मास्कोभित्रै महानगरीको कोलाहलबाट टाढा वनस्पति उद्यान र जनअर्थतन्त्र विकास प्रदर्शनीस्थलको विशाल उद्यानको मध्यभागमा अवस्थित हरियालीपूर्ण ओस्तान्किनो पार्कमा सम्पन्न गरिएको नेपालीहरूको कार्यक्रमलाई प्रकृतिले पनि साथ दिएको थियो भन्नु अत्युक्ति हुनेछैन । यस साल ग्रीष्मयाम मास्कोमा सामान्यभन्दा निकै न्यून तापक्रम रहनुका साथै निरन्तर झरीवर्षा पनि भइरहेको वेला नेपालीहरुले भानुजयन्ती मनाउने दिन चाहिं आकाशबाट सूर्यले आफ्नो प्रचण्ड तापबाट बचाउन पातलो बादलको पर्दा लगाएको भए तापनि झरीवर्षाबेगर नै रमाइलो वातावरणमा मास्कोमा बनभोज कार्यक्रमसहित २०२–यौं भानुजयन्ती सुसम्पन्न भएको छ ।
दिनाङ्क ः २५ जुलाई २०१५ (शनिश्चरवार),
मास्को, रूस महासंघ ।

प्रतिक्रिया