कालीकोटमा पशु बिमा गर्नेको लहर

इनेप्लिज २०७२ साउन १४ गते २:१६ मा प्रकाशित

cow_828765071कालीकोट, १४ साउन । जिल्लामा पहिलोपटक थालिएको पशु बिमाको कार्यक्रम प्रभावकारी हुनुका साथै बिमा गर्नेको लहर चलेको छ ।

नेपाल सरकार पशु बिमा कार्यक्रमअन्तर्गत कालीकोटमा जेठबाट कार्यालय स्थापना गरेर असार पहिलो सातादेखि पशु बिमा सुरु गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको समन्वयमा थालिएको कार्यक्रमअन्तर्गत गाई, भैँसी, बाख्रा, खच्चरको बिमा गरिएको एभरेस्ट इन्सुरेन्स कालीकोटका प्रमुख भूपेन्द्र बमले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २०० को हाराहारीमा पशु बिमा गरिएका छन् ।

जिल्ला पशु सेवा कार्यालयबाट पशु चिकित्सकसहितको टोली लिएर स्वास्थ्य परीक्षणसहित बिमा गर्ने गरिएको छ । पशु बिमाका लागि बढ्दो माग छ जनशक्ति नभएका कारण सबै क्षेत्रमा पुग्न नसकेको बमको भनाइ छ । पशु बिमाको काम थालिए पनि बाली बिमाका बारेमा भने प्रक्रिया सुरु गरेको तर बाली बिमाका लागि कृषक सम्पर्कमा नआएको बताएका छन् ।

कालीकोटमा यसअघि हिमचुली कृषि सहकारी संस्थाले कर्जा सुरक्षण निगममार्फत पशु बिमा कार्यक्रम अघि बढाएको थियो । पछिल्लो समय जिल्लामा युवा स्वरोजगार कार्यक्रमको लगानीबाट सुरु गरिएको व्यवसायको बिमामार्फत सुरक्षित गर्न खोजिएको बताइएको छ ।

प्रतिक्रिया