जंड्याहा देश र म

इनेप्लिज २०७२ साउन १२ गते १३:१४ मा प्रकाशित

11535845_989068034446689_7672953248457461807_nहरेक सप्ताहन्तमा अमेरिका बियर र पार्टीहरुको जमघटले रमाउँछ । हप्ताभरिको कामको प्रेसरले मन र तनलाई छिंया छिंया बनाउँछ । मानिसहरु रस( rush ) आवरमा कुदाकुद देखिन्छन हप्ताभरि कसैलाई राम्रोसंग बोल्ने फुर्सद हुदैन राम्रोसंग ,आज सम्पर्क गर्यो एक दुई दिनपछि कल्व्याक आउँछ ‘फोन गर्नु भाको रहेछ ,केहि काम थियो कि ,तपाइको भ्वाइसमेल सुनेर कल गर्दै छु है । कुरा गर्ने पनि समय भएन ,माफ गर्नुहोला ‘ । अनि हप्ताको अन्त्यमा अरु धेरै कामहरु थुप्रिएर बसेका हुन्छन र ती दिनहरुमा साँचेर राखेका काम सक्न नै भ्याई- नभ्याई हुन्छ । अझ आफ्नो कमाई,आफ्नो व्यवहारले गर्दा आम्दानी र खर्चको व्यालेन्स गर्न धेरैलाई त दुई दिनपनि कुदाकुद हुन्छ कामकै पछि पछि.अनि काम र समयको मूल्य भएको यो देशले कुनै पनि सर्तमा कामको र समयको मुल्यमा सम्झौता गर्दैन ,कम्परमाइज गर्दैन र त व्यवस्ता चुस्त हुन्छ हप्ता भरि र तोकिएको समयभरी ।

र त नियममा फसेपछि ,कानुन भित्र परेपछि घोडाको लगाममा जस्तै हिड्नै पर्छ । नियममा मुग्ध छ सिस्टम र जड्याहाको अड्डीजस्तो छोड्दै छोड्दैन र त देश हाँसेको छ भला देशबासीहरु खुसी नहोलान आफ्नै देशप्रति .हप्ताको दिनान्तमा सबै जड्याहामा परिवर्तन हुन्छन देशमा नेतादेखि कारिन्दा सम्म ,सोही समयमा मदिराको ज्यादा व्यापार हुन्छ ,स्टोरहरु रित्तिन्छ्न वियर,वाईन, भोड्का ,रम र ह्विस्की बेचेर र दुइ दिन घर ,बार ,रेस्टुरेन्ट खचाखच हुन्छन आ -आफ्नै संस्कृति बोकेका माइग्रेटेड कोलोनीहरुले । खासै फ्युजन छैन समाजमा ग्लोबल संस्कृतिको र आफ्नै जीन बोकेर लगातार कुदिरहेको देखिन्छ अमेरिकन नेपाली पनि । यौटै ड्रिंकको स्वादमा सबैले आफ्नै संस्कृतिको स्वाद घोलेर पीइरहेका हुन्छन । हाम्रा अग्रज नेपाली पनि त्यस्तै कुदिरहेका देखिन्छन नयाँ पुस्ताहरु पनि ।
साँची नै एकहुल जड्याहाहरुको सम्मेलन जस्तो छ यो देश ,खासै कुनै कुराको सन्दर्भ मिल्दैन एकअर्कामा । आफ्नै कुरामा तछाड मछाड गरिरहेजस्तो देखिन्छ न यहि जन्मेर कपाल फुलाउनेहरुलाई आफ्नो भन्ने लाग्छ यो देश न विविध बहानामा सपना बोकेर सात समुन्द्रबाट आउनेहरुलाई न सपना जस्तो लाग्छ ,न केही पाएजस्तो र न केही गुमाएजस्तो लाग्छ । बिल्कुल पहिलो सम्भोगको सम्झनाले धेरै समय भाईब्रेट गरेजस्तो ,केही ठिक जस्तो, केही आनन्द जस्तो र केही प्राप्ति जस्तो तर अन्त्यमा सुन्य सुन्य जस्तो । तेस्तै तेस्तै लाग्छ यहाँका अनुभवहरु ,भोगाइहरु ,प्राप्तिहरु ।
तुलना गर्यो बिगतसंग ,सबकुछ राम्रो छ ,उन्नति प्रगति छ । विविध अनुहार ,संस्कार ,सम्बन्ध छ मानिसहरुसंग । पृथ्वीका भूगोल खोज्न जानु पर्दैन त्यहाँको जस्तोसुकै स्वाद लिन । खानाका स्वादहरु ,समुन्द्रका छलांगहरु ,भाषाको कक्टेल छ यहाँ यौटै अंग्रेजी सयौं तरिकाबाट बोल्छन मानिसहरु (उच्चारणको सन्दर्भमा),स्पानिश ,एसिया ,निग्रो ,अरविक आदि आदि । साँच्ची कक्टेल भएको छ स्वादहरुले अमेरिका । बाटोमा निस्कंदा आफ्नै रफ्तारमा नियमभित्र कुदिरहन्छ र यहाँ ‘नेपाल बन्द ‘ हुदैन बगिरहन्छ बगिरहन्छ बाटो जता हेरेपनि । कसैले रोक्दैन कहिँ पुग्नलाई ,कसैसंग बोल्नलाई र आनन्द लाग्छ बग्नुमा । कुदेर काममा पुग्छ मानिस र सत्कारको स्यालुटसंगै काममा मस्त हुन्छ मानिस । कसैले तुलना र खुराफाती गफ गरेर बस्न भ्याउदैन , कामको जस्तोसुकै प्रकार होस् त्यसैले त हरेक व्यक्ति कामप्रति गर्व गर्दै निस्कन्छ हरेक क्षण भला कामले जतिसुकै उसको दिमाग खियाएको होस् र ज्यान छिंया छिंया परेको होस् ।
म पनि त्यहि रफ्तारमा कुदिरहंछु दिनहुँ ,बगिरहंछु अरु जसरि बग्दछन,बाटोमा बगीरहँदा सम्झिरंछु म जन्मेको देश यस्तै बगिरहे त नियमहरुमा, म ठुलै छालमा बगेर यहाँ हुत्तिने थिएन अग्रजहरुजस्तै । यो वियरको नशामा लठ्ठीने यो देश कति कठोर छ सिस्टममा । ‘जड्याहा ‘ देश ! गणित गर्ने हो भने मेरो देशका राजनेताहरुले बर्सौ पाँच तारे होटेलमा सिध्याउने ‘ब्रान्डी’एकै विकेन्डमा सिध्याउंदा हुन् अमिरिकनहरु । यिनीहरु त नियममा र कर्मसंगै देशको सिपाही बनेर खडा हुन्छन जहिलेसुकै । आजकल म पनि त तेस्तै भएको छु सांस्कृतिक कोलोनिहरुमा बाँच्दै सप्तान्तमा आकाशका ताराहरु गनेर मस्त हुन्छु साथीसंग कौसीमा ,महफिल जम्छ मध्ये रातसम्म र देशका खराब अवस्थाको कन्भर्सेसनमा बित्छ कति समय ,सायद मनमा देशभक्ति भएर होला अर्धचेतना ना पनि बग्छ देश ।विविध जमघटमा र यस्तै बग्न र सपना देख्न नसकेका तेश्रो विश्वका कथाहरु साटेर मन हलुको बनाउछु कतै क्याफेमा र पार्कहरुमा । कथाहरु सबैका छन् ,हामी मात्रै ती पिडाहरुबाट गुग्रिरहेका छैनौ । अझ अरुहरु दर्दनाक कथाबाट अगाडी बगिरहेका छन देश र समाजहरु । लाग्छ आफैबाट भागेर स्वतन्त्रताको नाममा म किन यो सुविधामा लिप्त भएर कोलोनी बनाएर अस्तित्व किन खोज्नु ।
होइन यहाँ सबै मिलेको छ नमिलेका अनुहार ,भाषा र संस्कृति भएपनि र यो देश पनि तेही बनाउन चाहिरहंछ यौटा मिश्रण सबैकुराको । फरक बोली र संस्कृतिका अनुहारहरुले राज्यको यौटा साझा संस्कृति बनाउछन् सहमतिमै । तर यौटा परम्परा बोकेको सिंगो मेरो देशले किन कोर्दैन साझा नियम ,अनुसाशन र परम्परा र यो पिढीलाई किन धकेलीरहन्छ यी र यस्तै संस्कृतिहरुको खोजीमा मरुभूमिको मिराजजस्तै र देशका बागडोर, युवा र ‘म’ हरुले किन गर्व गरिरहन्छन कोलोनिहरुमा बाँचेर यहिकै नियम र परम्परामा बाँच्नुमा । रियालिटी यौटा र आफ्नै गुन्द्रुक र खोले छोडेर फास्टफुड , ब्रागर र पिज्जाहरुमा ।
आजकल त म पनि रमाउन सिकिसकेको छु बार्बिक्यु ,ब्रगर र पिज्जाका स्वादहरुमा ती स्वादसंगै सुँगुरको जस्तो ओठ देखाएर ‘सेल्फी’ सोसल मिडियामा
अपलोड गर्न कत्ति हिचकिचाहट लाग्दैन । जीवन भोगाइ छ यहाँ ,आनन्द त्यसैमा छ ,कहिले कुदेर समुन्द्रका किनारमा कुदेर बालुवामा बाल्यकाल जस्तै खेलिन्छ र कहिले मध्यरातसम्म सहरको झिलिमिली सुन्दरता हेर्दै गाडीको झ्यालबाट स्वच्छ हावा लिदै खुला बाटोमा सुरक्षित कुदिन्छ । एङ्ग्लिश खरर बोल्ने ठिटीहरुको सत्कार सम्झेर बिलको आधाजति टिप्स राखेर आनन्दसंग घर कुदिन्छ बिदाका दिनहरुमा ।
आहा! कोलोनी सबै कुरा किन नकारात्मक सोच्नु ,जे हुन्छ राम्रैका लागि हुन्छ र गरिन्छ । यो ‘जड्याहा'(नयाँ परिभाषा) देशमा म पनि यौटा संस्कृतिमा हुर्केर कक्टेल स्वाद बाँच्दै छु ,जीवनका स्वादहरु चख्दैछु । जसरी अमेरिका हरेक सप्तान्तमा नसाले झुम हुन्छ तेसै तेसै म पनि झुम भैरहेछु हरेक सन्दर्भमा । तर कता कता लागिरहन्छ यस्तै राम्रा कुराहरुको स्वाद चाखेर आफ्नै देशमा ‘झुम’ हन सके !

प्रतिक्रिया