विवरण नबुझाउने ६८ सहकारी संस्था निष्क्रियको सूचीमा

इनेप्लिज २०७२ साउन ११ गते ४:०६ मा प्रकाशित

कञ्चनपुर, ११ साउन । सहकारी डिभिजन कार्यालय महेन्द्रनगरले ६८ वटा सहकारी संस्थालाई निष्क्रियको सूचीमा राखेको छ ।

प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई कार्यालयले निष्क्रिय सहकारीको सूचीमा राखेको हो ।

निष्क्रियको सूचीमा कञ्चनपुरका ३४ र डडेल्धुराका ३४ गरी ६८ सहकारी परेको सहकारी डिभिजन कार्यालयका योजना शाखाका सहकारी निरीक्षक केशवराज लेखकले बताउनुभयो ।

निष्क्रियको सूचीमा समावेश भएका सहकारी संस्थालाई कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा उपलब्ध नगराइने उहाँले उल्लेख गर्नुभयो ।

आव ०७१÷७२ मा कार्यालयको मातहतमा रहेका डडेल्धुराका २८ र कञ्चनपुरका १९० सहकारी संस्थाले लेखापरीक्षण स्वीकृति पाएकामा डडेल्धुराका ४५ र कञ्चनपुरका १८४ सहकारी संस्थाको मात्रै लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको बताइएको छ ।

निष्क्रिय सहकारीको सूचीमा समावेश गरिएका लेखापरीक्षण नगर्ने र सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड मिच्ने सहकारीलाई सहकारी ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा ३८४ र डडेल्धुरामा १८४ गरी ५६८ सहकारी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया