विस्थापित परिवारबाट टहरो निर्माण

इनेप्लिज २०७२ साउन १० गते १:५८ मा प्रकाशित

धुन्चे (रसुवा), १० साउन । भूकम्पपछि विस्थापित भई धुन्चे क्षेत्रमा बसोबास गर्ने हाकुवासीले बासस्थानका लागि अस्थायी टहरा बनाउन थालेका छन् ।

जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिको अनुमतिमा धुन्चेको इमरुङ इलाका क्षेत्रमा जस्ताको टहरा बनाउन ४० घरपरिवारले काम सुरु गरेको हाकु गाविस हाकुबेंसीका विस्थापितमध्येका निमदोर्जे तामाङले बताउनुभयो । टहरा बनाउन २१६ मेगावाट माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाले प्रत्येक परिवारलाई बाँस र दुई बन्डलका दरले जस्तापाता प्रदान गरेको बताइएको छ ।

भूकम्पबाट हाकु क्षेत्रका ७५१ घर विस्थापितमध्ये २४० परिवार धुन्चे क्षेत्रमा र अन्य कालिकास्थान, धैबुङ तथा लहरेपौवाको बेत्रावती, कैवलटार, सातबिसे क्षेत्रमा सरकारी र गैससमार्फत प्रदान गरिएको त्रिपालभित्र आश्रय लिइरहेको हाकु गाविसले जनाएको छ । त्रिपालभित्रको बसाइले विषेशगरी आमा र बच्चालाई चिसोले असर पुर्‍याएको तथा बालबालिकाको पढाइ प्रभावित भएकाले विस्थापितले गाउँ गाउँमा सामूहिक सिकाइ केन्द्र स्थापना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया