शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

पारसको राजीनामा कसलाई चाहिएको ?

इनेप्लिज २०७२ साउन ९ गते १४:२३ मा प्रकाशित

IMG_04251राजा विरेन्द्रको हत्या भएयता पंक्तिकारलाई नेपालको राजनीतिक अवस्था अलिअलि थाहा हुन थाल्यो । अहिलेसम्म नेपालको राजनीतिबाट सन्तुष्ट हुने ठाउँ छैन । भन्नै पर्छ आज, नेपाली जनताको मुहारमा अलिकति भएपनि खुशी दिएको क्रिकेटले नै हो ।

तर हामीले यसपटक हार्यौं । तर लाग्दैन कि हाम्रा खेलाडीले गर्नै नहुने काम गरे । खेल हो । हार–जित अवश्यै हुन्छ । यो कुरा जसलाई पनि थाहा छ । कुन खेलमा हार जित हुँदैन र ? हामी मानव । सर्वश्रेष्ठ प्राणी । एउटाले जित्छ, एउटाले हार्छ भन्ने कुरा थाहा हुँदा–हुँदै पनि किन मुर्ख हुन खोज्ने ? यसपटक हामी विश्वकपमा छनोट हुन सकेनौं । यसमा खेलाडीलाई किन सत्तोसराप गर्ने ?

सुरुवाती खेल नेपाली टोलीले सधैं आक्रमक खेल्छ । खेल जित्छ र वाहवाही कमाउँछ । अनि सुरु हुन्छ हारको श्रृङ्खला । यसपटक पनि भयो त्यस्तै । अमेरिकासँग कप्तान पारसले २१ रनको महत्वपूर्ण पारी खेलेका हुन् कि होईनन् ? अहिले ती पारसकै राजीनामा कसलाई चाहिएको हो ?

खेल हार्दा हामी पीडामा छौं । तर, खेलाडीलाई मात्र थाहा हुन्छ खेल हार्दाको वास्तविक पीडा । हो, हाम्रा खेलाडीले यसपटक दर्शकलाई खुशी दिन सकेनन् । तर हामी दर्शक अहिले जति निराश छौं, त्यसको कयौं गुणा बढी निराश खेलाडी छन् ।

एकपटक राजनीति पनि नियालौं । दुई दुई पटक चुनावमा लडेर राज्यको ढुकुटी रित्याउनेहरुले आफ्नो स्वार्थका लागि एक थान संविधानम्म दिएका छैनन् । संविधान नआएको पीडामा गुम्सिएका नेपालीको मुहारमा अघिल्लो वर्ष अलिकति भएपनि चमक दिने यिनै पारस खड्काहरु हुन् कि होइनन् ? आफूले केही गर्न नसकिरहेका बेला देशको क्रिकेट टोलीले विश्वकप खेलेर आउँदा लज्जावोध भएका नेताले लाज पचाउँदै यिनै खेलाडीलाई मान–सम्मान गर्दै घुमाएका हुन् कि होईनन् ?

Parash-khadka-bold-out

तर, विडम्बना । अहिले हामीले हार्यौं । यो हाम्रो दुर्भाग्य हो, हाम्रा खेलाडीले सोचेजति खेल देखाउन सकेनन् यसपटक । टी–२० मा विस्फोटक व्याट्सम्यानका रुपमा परिचित भारतका शिखर धवनलाई र्याङ्किङमा पच्छारेका हाम्रा कप्तान पारस अनि उपकप्तान ज्ञानेन्द्र चलेनन् यस प्रतियोगितामा । तर यसमा उनीहरुको के दोष ?

देशमा अराजकता मच्चाउने विरुद्ध चुइँक्क नबोल्ने हामी । अघिल्लो पटक चुनाव लडेर संविधान नदिएका नेतालाई केही भन्न नसक्ने हामी । लाज पचाएर फेरि भोट माग्न आउँदा पेट्रोल हाल्ने लोभमा पछिपछि कुद्ने हामी । एकवर्षमा संविधान दिने वाचा गर्नेहरु वर्षौ बितिसक्दा पनि तानातानमै छन् । तर पनि उनीहरु गाउँ छिर्दा देउता आएझै गरी ढोग्नै पुग्ने हामी नै हौं । उनीहरु पर–पर हुँदा मपाइँ हुन २÷४ शव्द ओकल्ने हामी उनीहरुका अगाडि पर्नासाथ ज्यू–ज्यू गर्छौं । त्यतिबेला कहाँ हराउँछ अघिको मपाईँ ?

Binod-Bhandari2

तर ती बिचरा खेलाडी, जो देशका लागि पसिना बगाउन गएका छन् । उनीहरु विरुद्ध यसरी खनिनु किन ? एउटा ज्ञानेन्द्रले अराजकता मच्चाएको देशमा अर्को ज्ञानेन्द्रले खुशी दिएको थियो कि थिएन गत सालको विश्वकपमा ? एउटा पारसले नेपाल देशको बेईज्जत गरिरहेका बेला अर्को पारसले देशलाई विश्वभर चिनाउने काम गरेको थियो कि थिएन अघिल्लो विश्वकपमा ? छोरा–छोरीले क्रिकेट बल समाएको देख्नासाथ पिट्न झम्टिने बाबुआमाहरु नै आँखा तन्काउँदै रातभर टीभी हेरेका हुन कि होईनन् पोहोरको विश्वकपमा ?

हो नबुझ्नेलाई क्रिकेट अप्ठ्यारो छ । बुझ्नेलाई साह्रै सजिलो । पङ्क्तिकारले क्रिकेट बुझेको, हेरेको, खेलेको ७ वर्ष भएछ । सात वर्षअघि प्लास्टिकको बल र कक्षाकोठाको सीटको खुट्टा भाँचेर ब्याट गर्ने पङ्तिकार आज क्रिकेटका राम्रा–नराम्रा पक्ष केलाउन सक्ने भएको छ । भन्नैपर्छ आज । हामीले छनोट चरण पार गर्न सकेनौं । यस अवस्थामा खेलाडीलाई मुखमा आएजति गाली गर्नु मुर्खता मात्र हो ।

Karan-Kc1

घरमा बसेर समाचार सुनेको भरमा खेलाडीलाई गाली गर्नेहरुलाई के थाहा क्रिजको कण्डिशन । खेलाडीलाई गाली गर्नेलाई के थाहा त्यो देशको मौसम । के थाहा पिचको बाउन्स । गाली गरिदिए पुग्छ । मन लागेजति फेसबुकमा लेखिदिए पुग्छ । प्रशिक्षक दसानायके र कप्तान पारसको राजीनामा मागिदिए पुग्छ । आक्रोश पनि कस्तो हो ? खेल हार्दा उनीहरुलाई चाहिँ कस्तो महसुस भईरहेको होला भन्ने आउँछ कि आउँदैन मनमा ?

हामीसँग अभ्यास गर्ने खेलमैदानसम्म छैन । आधा दर्जनभन्दा बढीपटक बजेट भाषण दिइसकेका हाम्रा महत डाक्टर सा’प क्रिकेट स्टेडियमको कुरा गर्न छाड्दैनन् । प्रत्येक बजेट भाषणमा खेलकुदका कुरा छुस्स घुसाउन छुटाउँदैनन् । उनलाई के थाहा खेलकुदमा लगानी गर्दाको प्रतिफल ? अर्को कुरा, प्रशिक्षक दसानायके श्रीलङ्कन हुन् । उनी लामो समयदेखि नेपालमा छन् । नेपाललाई विश्वकपमा पुर्याउने उनको लक्ष्य अघिल्लै वर्ष पूरा भयो । उनी यतिमै रोकिन चाहँदैनन् । उनलाई थाहा छ नेपाली टोलीलाई माथिसम्म पुर्याउन सकिन्छ भन्ने कुरा ।

Sudanta-lohani

तर बिडम्बना । यहाँ विदेशी नागरिक दशानायकेको पदावदी थप्ने विषयमा राजनीति हुन्छ । पदावदी सकिनुभन्दा दुईघण्टा अघिसम्म उनी मैदानमै हुन्छन् । यता अवधि थप्ने कि नथप्ने भन्ने विषयमा घम्साघम्सी चल्दै हुन्छ । म्याद सकिएपछि दशानायके बिदेश गए एकपटक । यता खेलाडीले विरोध गरेपछि बाध्य भएर उनलाई फिर्ता ल्यायो सरकारले । आफैं अनुमान लगाउन सक्नुहुन्छ, दशानायके कति अपमान महसुस गर्दै होलान् ?

रोचक पक्ष त के छ भने सुरुवाती खेल नेपाली टोलीले सधैं आक्रमक खेल्छ । खेल जित्छ र वाहवाही कमाउँछ । अनि सुरु हुन्छ हारको श्रृङ्खला । यसपटक पनि भयो त्यस्तै । पहिलो खेल अमेरिकासँग थियो । अमेरिकालाई ६ विकेटले पराजित गरेर चर्चा पाएको टोलीको आलोचना भोलिपल्टैबाट सुरु भईहाल्यो । अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । अमेरिकासँग कप्तान पारसले २१ रनको महत्वपूर्ण पारी खेलेका हुन् कि होईनन् ? अहिले ती पारसकै राजिनामा कसलाई चाहिएको हो ?
हो, नेपालले घरेलु टोली आयरल्याण्डसँग लज्जास्पद हार व्यहोरेकै हो । सिङ्गो टोलीले जोडेकोे ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । खेलमा नेपालको न ब्याट चल्यो, न त बल नै । यसअघि एउटा खेल त वर्षाले अंक बाँडिदिएकै थियो । त्यसपछि हङकङ, पपुवा न्यूगिनी र जर्सीसँगको लगातार हारले सपना चकनाचुर बनेको हो ।

Subash-khakurel

आयरल्याडको यात्रामा निस्कँदा कप्तान पारसको लक्ष्य विश्वकपमा छनोट हुने मात्र थिएन, उपाधि नै जित्ने थियो । भईदियो ठीक उल्टो । जम्मा एउटामा जित (अमेरिकासँग ६ विकेटको) बाहेक नेपाल कुनै पनि खेलमा विजयी हुन सकेन । कप्तान पारसले सबै खेलमा सकेजति प्रयास गरेकै हुन् । तर, उनको केही सिप चलेन यसपटक । भाग्यले हामीलाई ठगेकै हो ।

हाम्रो समस्या ओपनिमा रह्यो । सुरुवाती जोडिका रुपमा सागर, अनिल, सुवास र प्रदिपलाई प्रयोग गरियो । तर, कोही चलेनन् । प्रतियोगिताभर सम्झनलायक खेल कसैले देखाएनन् । विनोद भण्डारी सुपर फ्लप रहे । पाँच खेलमा उनले कुल १४ रन बनाए । लामो समयपछि सिनियर टीममा कमब्याक गरेका प्रदिप ऐरीले पपुवा न्यूगिनीविरुद्ध आक्रमक २९ रन बनाएर दर्शकको मन जित्ने प्रयास गरे । तर, जर्सीसँगको खेलमा उनी मात्र २ रनमा आउट भए । बलिङमा सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनको प्रदर्शन उत्कृष्ट नभएपनि ठीकै रह्यो । तर, करण केसी फ्लप रहे ।

Sudanta-lohani-1

जर्सीसँगको अभ्यास खेलमा सिनियर टीममा डेब्यू गरेका सिद्धान्त लोहनीले भने सबैलाई प्रभावित पारेका छन् । उनले मात्र १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । जुन जर्सीविरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । उनले प्रहार गरेको हेलिकोप्टर सटको निकै चर्चा भएको छ । उनलाई भारतीय कप्तान महेन्द्रसिंह धोनीसँग तुलना नै गरियो ।

हाम्रो कमजोरी यहिँनेर छ । हामी परिस्थिति बुझ्दैनौं । मात्र हामीलाई जित चाहिन्छ बस् । टीभी हेरेको भरमा ‘म चाहिँ भएको भए यसरी खेल्थें’ भन्नु आफैंमा हाँस्यास्पद छ । हो यसपटक नेपाली टोलीले अपेक्षाअनुसार खेलेन नै । यो यथार्थ हो । तर, गत साल यिनै पारस र ज्ञानेन्द्रको नाम जप्दै रमाउने हामी आज राजीनामा माग्ने भईसक्यौं ?

सँगै गएका टीमका फिजियो अइजाज बसिर असाई महिलालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परे । यसबाट बेईज्जत कसको भयो ? टोलीकै, राष्ट्रकै । यसले खेलाडीमा कतिसम्म मनोवैज्ञानिक असर पर्छ भन्ने सोचौं एकपटक । लगत्तै क्यानले बसिरलाई हटाएको त छ । तर यो घाउ हत्तपत्त निको हुँदैन । यता अर्थमन्त्री बजेट भाषणमा छन्, उता खेलाडी मैदानमा । देशका मुख्य शहरहरुमा क्रिकेट मैदान निर्माण गर्न २१ करोड रुपैयाँ विनियोजन गरेको छ । धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता र युवाको आकर्षण रहेको भन्दै काठमाडौं बाहिरका मुख्य शहरमा क्रिकेट मैदान बनाउने घोषणा गरिएको छ । खेलाडीले राम्ररी बुझेका छन् यो भाषण मात्र हो भनेर ।

Sarad-Veswakar2

तसर्थ खेल गुमाउँदैमा कप्तान र प्रशिक्षकको राजीनामा होईन । खेल गुमाउनुको कारणतर्फ लागौं । प्रशिक्षक दसानायके क्षमतावान छन् । उनले त राजीनामा दिएर भोली अर्को देशको प्रशिक्षक पनि बन्लान् । पारसले कप्तानबाट राजीनामा दिएर आलोचकको चाहना पुरा पनि गरिदिएलान् । तर, घाटा कसलाई हुन्छ ? राष्ट्रलाई । एकपटक सोचौं । राजीनामा, आलोचना होईन । हाम्रा खेलाडी नेपाल फर्किदा शिर झुकाएर प्लेनबाट ओर्लिने वातावरण नबनाऔं ।

एउटा कुरा संयोग जस्तै भइदिएको छ । नेताले रुवाउँछन्, फकाउँछ क्रिकेटले । नेताले नै खुशी दिँदा रुवाउँछ क्रिकेट । ‎हामीले‬ ‎हार्यौं । तर, अहिले उनीहरुलाई साथ, माया र हौसला चाहिएको छ । ता कि अर्कोपटक यो पीडालाई सयौं कोष पर धकेल्न सकुन् । टी-२० विश्वकपका लागि ४ वर्ष कुर्नु पर्दैन । प्रत्येक २ वर्षमा आयोजना हुन्छ । हिम्मत राखौं हामी अर्को विश्वकप खेल्नेछौं । त्यो पनि शानदार ढंगले ।

प्रतिक्रिया