झापामा अस्ट्रिच पाल्न थालियो

इनेप्लिज २०७२ साउन ९ गते ११:२२ मा प्रकाशित

ostrichकाँकडभिट्टा (झापा), ९ साउन । झापाको शनिअर्जुनमा सातजना किसानले व्यावसायिक रुपमा अस्ट्रिच चरा पाल्न सुरु गरेका छन् ।

शनिअर्जुन–७ प्रणामी टोलमा उनीहरूले सञ्चालन गरेको ‘झापा अस्ट्रिच कृषि फार्म’मा हाल ३० वटा अस्ट्रिच हुर्किरहेका छन् ।

धर्तीकै ठूलो चरा मानिएको अस्ट्रिच एक वर्षमा एक सय किलोग्राम तौलको हुने फार्मका सञ्चालक विष्णु सङ्ग्रौला बताउनुहुन्छ । फार्ममा अहिले चार महिनाको चल्लाको अवस्थामा अस्ट्रि«च हुर्किरहेका छन् । तिनको एउटाको तौल २५ किलोग्रामको भइसकेको छ ।

मासु उत्पादनका लागि व्यावसायिक रुपमा अस्ट्रिच पालिएको भए तापनि यतिबेला चरा हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

दिनहुँ ५० भन्दा बढी मानिस चरा हेर्न आउने गरेको सङ्ग्रौला बताउनुहुन्छ । चरा हेर्नका लागि एक व्यक्तिले रु २० को टिकट खरिद गर्नुपर्ने फार्मले नियम लगाएको छ ।

रु ३५ लाखको लगानीमा थालिएको अस्ट्रिच फार्म दुई बिगाहा जग्गामा फैलिएको छ । जसमध्ये छ कट्ठा जग्गामा फलामे तारले घेराबेरा गरेर अस्ट्रिच राखिएका छन् ।

रुपन्देही जिल्लाबाट एउटा चल्लाको रु ६० हजारका दरले किनेर अस्ट्रिच ल्याएको बताउँदै सञ्चालक सङ्ग्रौलाले भविष्यमा ६० वटा अस्ट्रिच थप्ने तयारी भइरहेको जानकारी दिनु भयो ।

फार्ममा डेढ बिगाहा जग्गामा अस्ट्रिचको आहाराका लागि जोइन भेजलगायतका घाँस रोपिएको छ । अस्ट्रिचले घाँस, मकैको दाना, चुन ढुङ्गा र माटो आहाराका रुपमा खाने गर्छ । दिउँसो रुखको छायाँमा बस्न र छिनछिनमा पखेटा फट्फटाएर दगुर्न अस्ट्रिच रुचाउँछ ।

एउटा चराले दिनमा डेढ किलोसम्म आहारा खाने गरेको फार्म सञ्चालकहरू बताउँछन् । पाइपबाट पु¥याइने पानीमा नुहाउन यो चराले मन पराउने गरेको छ । फार्ममा अस्ट्रिच जस्तै देखिने केही सानो कदका इमो चरासमेत पालिएको छ ।

झापामा तरकारीको मूल्य दोब्बर

यसैगरी झापामा वर्षासँगै बढेको गर्मीका कारण तरकारीको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ ।

प्रायः बिहान बेलुका पर्ने पानी र दिनभर चर्किने घामका कारण किसानले खेतबारीमा लगाएको तरकारी कुहिनाले मूल्यमा वृद्धि भएको किसान बताउँछन् ।

झापामा तरकारीको मूल्य अहिले प्रतिकिलो रामतोरिया रु ४०, बोडी रु ४०, परबल रु ४०, गोलभेँडा रु ४०, काँक्रा रु ३५, आलु रु ३०, बन्दाकोपी रु ४०, बैगुन रु ३५, करेला रु ४०, घिरौँला रु ३५ रहेको छ ।

सो मूल्य असारमा प्रतिकिलो रामतोरिया रु २०, बोडी, रु १५, परबल रु १५, गोलभेँडा रु २०, काँक्रो रु २०, आलु रु १२, बन्दा रु २०, करेला रु २० र घिरौँला रु २० रहेको स्थानीय खुद्रा व्यापारी फूलमति राजवंशीले बताउनुभयो ।

प्रतिक्रिया