हेमन्त केसी
जाजरकोट, ९ साउन । जाजरकोटका विभिन्न गाविसमा रहेका खानीबाट करोडौँ मूल्यको खनिज पत्थर चोरी निकासी हुने क्रम बढेको छ । सम्बन्धित निकायको उदासिनताका कारण बहुमूल्य खनिज पत्थर चोरी निकारी बढेको हो । सरकारी राजस्व नतिरेर चोरी पैठारी हँुदा पनि अहिलेसम्म सरकारी निकाय मौन रहेको छ ।
खोजतलास तथा उत्खननकर्ताले वर्षौंदेखि विश्व बजारमा काईनाइट, टुर्मालिन, क्वार्ज, क्रिष्टल, रुबी, निलम, एकोमेरीनलगायत मूल्यवान् खनिज पत्थर निकासी पैठारी गर्दै आए पनि जिल्लाले राजस्व आम्दानी गर्न सकेको छैन ।
कानुन विपरीत यी मूल्यवान् पत्थरको खोजतलास, उत्खनन र चोरी निकासी हुँदा पनि सम्बन्धित निकाय बेखबर हुनु दुःखद् भएको स्थानीयको गुनासो छ । सरकारी संरक्षणको अभावमा बहुमूल्य पत्थरको चोरी यति धेरै बढ्दा पनि गाविस, जिविस र अन्य निकायमा पत्थरको राजस्व आम्दानी शून्य भएको उद्योग वाणिज्य सङ्घ जाजरकोटका कोषाध्यक्ष वसन्त शर्माले बताउनुभयो ।
दर्जन खोजतलास तथा उत्खननकर्ताले जिल्लामा कर नतिरेरै टालेगाउँ, अर्छानी, दह, कोर्ता, गर्खाकोट, पजारु र पैक गाविसमा रहेका खानीबाट मूल्यवान् पत्थरको निकासी पैठारी गर्दै आएको उहाँको भनाइ छ ।
टालेगाउँ–८ सौरेनी खानीबाट मात्रै बर्सेनि ४० क्विन्टलका दरले काईनाइट निकासी हुने गरेको टालेगाउँका स्थानीय जनबहादुर सिंहले बताउनुभयो । प्रतिकिलोको रु १५ हजारदेखि ८० हजारसम्म मूल्य पर्ने यो काईनाइटको निकासी पैठारी हुने गरे पनि जिल्लाले कुनै आम्दानी गर्न नसकेको उहाँले दुखेसो गर्नुभयो ।
खानीमै मजदुरले उक्त पत्थर प्रतिकिलोको रु एक हजार ५०० मा बिक्री गर्ने गरेका छन् । गाउँमै यति बहुमूल्य पत्थरको खानी भए पनि स्थानीयले कुनै लाभ लिन सकेका छैनन् । उल्टै जथाभावी उत्खनन गर्दा वातावरणीय पर्यावरण बिग्रेको भन्दै उहाँले करोडौँ मूल्यका खनिज निकासी हुने खानी सरकारले सञ्चालन गर्नुपर्ने बताउनुभयो । खानी तथा भूगर्भ विभागले व्यक्तिगत घरजग्गा भएको स्थानमा पनि उत्खननको अनुमति दिँदा झन समस्या भएको छ ।
नापी कार्यालय र सम्बन्धित गाविसको रोहवरमा खानी क्षेत्र छुट्याउनु पर्नेमा उनीहरुले मनोमानी उत्खनन गर्ने गरेको स्थानीयवासीको आरोप छ । पत्थर निकाल्नको लागि ४० मिटर गहिरो खाडल खनी जथाभावी माटो ढुङ्गा फाल्दा बाढी पहिरो जानुका साथै खोलामा भएका जलचर प्राणी मर्ने गरेको, वन क्षेत्रमा पनि उत्खनन गर्दा वन जङ्गल विनास भई पर्यावरण बिग्रेको स्थानीयवासीको आरोप छ ।
सरकारी संरक्षण नहुँदा जिल्लाले करोडौँको सम्पत्ति गुमाएको छ । जिल्लाबाट २५ वर्ष अघिदेखि मूल्यवान् पत्थर चोरी निकासी हुँदै आएको भए पनि सरोकारवालाको बेवास्ताले जिल्लाले ठूलो घाटा बेहोर्नु परेको हो ।
पछिल्लो समय सौरैनीको खानीबाट काईनाइट उत्खनन र निकासीका लागि उत्खननकर्ता र स्थानीयबीच तानातान हुन थालेको छ । एक वर्ग किलोमिटर क्षेत्रफलमा फर एभर जेम्स एन्ड ज्वेलर्स सुर्खेतका प्रोपाइटर गोपाल पाण्डेले उक्त खानी सञ्चालन गर्ने अनुमति लिएका छन् ।
उहाँले छ वर्षअघि खानी विभागबाट उत्खननको अनुमति लिएका थिए तर टालेगाउँका स्थानीयले भने खानी गाविसको स्वामित्वमा सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । पत्थर चोरीको उजुरी गर्दा पनि गाविस र प्रहरीले सुनुवाइ नगरेको स्थानीयवासीको गुनासो छ । खानी विभागलाई औद्योगिकस्तर प्रति टन ५० र जेम्सस्तरको प्रतिकिलो रु तीनका दरले कर तिर्ने गरेको पाण्डेको भनाइ छ ।
ठेकेदारले स्थानीय प्रहरी चौकी र गाविसबाट निकासी पुर्जी लिने गरेका छन् । स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले खानीलाई व्यवस्थित गर्नसके जिल्लाले करोडाँै आम्दानी गर्ने भन्दै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा समस्या परेको बताउनुभयो । कर्मचारी फेरबदल भइरहने भएकाले खानी व्यवस्थित गर्न समस्या परेको उहाँको भनाइ छ ।
यसको व्यवस्थित उत्खनन र निकासीका लागि आफूले पहल गरिरहेको जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया