हिन्दू राष्ट्र कायम गर्न पूर्वप्रधानमन्त्री चन्दको माग

इनेप्लिज २०७२ साउन ७ गते १४:२७ मा प्रकाशित

lokendra-bahadur-chandकाठमाडौँ, ७ साउन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्नु भएको छ ।

सारथी सिर्जनशील समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिन्दू जन–जागरण गौरक्षा अभियान नेपालले आयोजना गरेको ‘पितृमुक्ति राष्ट्रशान्ति विश्वकल्याणार्थ प्राथना तथा अमरनाथसम्मको तीर्थयात्रा’ को आज यहाँ शुभारम्भ गर्दै राप्रपाका नेता चन्दले जनताका महत्वपूर्ण र प्रमुख विषयहरू मस्यौदामा छुृटेको हुँदा संसोधन गर्नुपर्ने बताउनुभयो ।

देशको सम्मानका लागि पनि नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्दै उहाँले जतिसक्दो चाँडो संविधान जारी गरी मुलुकलाई शान्तिको मार्गमा अगाडि बढाउनुपर्ने उल्लेख गर्नु भयो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अझै पनि प्राप्त समय भएको हुँदा नेपालमै रोजगारको सिर्जना गर्न सकिने, सबैको भावना समेटिएको, सबैलाई अपनत्व हुने गरी स्थिर संविधान ल्याउन आग्रह गर्नुभयो ।

पूजा अर्चना कथा प्रवचन गर्दै काठमाडौँबाट सुरू गरिएको तीर्थ यात्रा भारतको गोरखपुर र नेपालको देवघाट, भैरहवासहित मुलुकका ७५ वटै जिल्लाका विभिन्न मठ–मन्दिर र धार्मिक स्थलको यात्रा गरी साउन ३२ गते काठमाडौँमा आइ सम्पन्न हुने छ ।

प्रतिक्रिया