संविधान आफैँ बनाउने जनचाहना पूरा हुँदै: मन्त्री साउद

इनेप्लिज २०७२ साउन ६ गते १०:०१ मा प्रकाशित

14100807NP-saudभीमदत्तनगर, ६ साउन । सिँचाइ मन्त्री नारायण प्रकाश साउदले २००७ सालपछि जनताको आफ्नो संविधान आफँै बनाउने चाहना पूरा हुन लागेको बताउनुभएको छ । “२००७ सालपछि जनतालाई संविधान आफँै बनाउने धोको थियो”, उहाँले भन्नुभयो, “अब त्यो धोको पूरा हुने क्रममा छ ।”

कञ्चनपुरको भीमदत्तनगरमा विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलिसभामा बिपीको शालिकमा माल्यार्पण गर्दै मन्त्री साउदले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस पहिलो शक्ति नभएकै कारण संविधान जारी हुन सकेन, यसपटक भने जसरी पनि जारी हुन्छ भन्नुभयो ।

संविधानको मस्यौदामा रहेका सबै कुरा ठीक नभए पनि राष्ट्रियता, समाजवादलगायतका विषय समेटिएको बताउँदै उहाँले संविधान जारी भएपछि मुलुक आर्थिक विकासको गतिमा अघि बढ्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले अहिले काँग्रेसले सबै राजनीतिक शक्तिलाई एक ठाउँमा राखेर संविधान निर्माणमा जुटिरहेको बताउनुभयो ।

सोही अवसरमा मन्त्री साउदले महाकाली अञ्चल अस्पतालका बिरामीलाई फलफूलसमेत वितरण गर्नुभयो ।

प्रतिक्रिया