पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा नेजा

इनेप्लिज २०७२ साउन ६ गते २:५६ मा प्रकाशित

NEAJA Handover Constitution Memorandum (45)वासिङ्गटन डिसी, जुलाई २१/ नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा राख्न सुझाव पेश गरेको छ । नेजाका अध्यक्ष गौतम दाहालको नेतृत्वमा नेपाली राजदूतावास वासिंगटन डिसीमा गएको नेजाको एक प्रतिनिधि मण्डलले सोमवार अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीलाई हस्तान्तरण गरेको मस्यौदा संविधानको सुझावमा यस्तो उल्लेख छ । नेजाले संविधानको प्रस्तावनाको सौह्रौ लाईनमा रहेको प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता राख्न अनुरोध गरेको हो । नेजाले पेश गरेको सुझावमा भनिएको छ,अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताबाट अलग हुनु भनेको कुनै न कुनै प्रकारको निरंकुशताको परिकल्पना होु भन्ने नेजाको ठहर रहेको छ ।

NEAJA Handover Constitution Memorandum (1)

नेजाले राजदूत कार्कीमार्फत हस्तान्तरण गरेको सुझावमा भनिएको छ – पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,सूचनाको हकको पूर्ण प्रत्याभूति,सुशासन,पारदर्शीता र जवाफदेही सरकार लोकतन्त्रका सूचक भएको हुन् , तसर्थ पूर्ण प्रेस स्वतन्त्रताले जनताले सूसूचित हुन पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी समेत गर्दछ ।
सुझाव ग्रहण गर्दै राजदूत कार्कीले नेजाको सुझावलाई मस्यौदा समिति समक्ष पठाईने जानकारी दिनुभयो । कार्कीले भन्नुभयो –मस्यौदामा आप्रवासी नेपालीहरुले दिएका चासो,सुझावले विदेशमा रहेर पनि नेपालीहरु देशको भविष्यमा चिन्तित रहेको पाएको छु , यो सुखद पक्ष हो । कार्कीले कूटनीतिक हैसियतले नेपाली डायस्पोरालाई सहभागी वनाउँदै अगाडि बढ्ने काम समेत भएकाले अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसँग छलफल र सहकार्य गर्न आफु सधैं तयार रहेको वताउनु भयो । दूतावासले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली समुदायको हीतमा काम गर्न प्रतिवद्ध रहेको कार्कीको भनाइ थियो
सुझाव हस्तान्तरणमा नेजाका संस्थापक सभापति एवं वर्तमान सल्लाहकार गिरिश पोखरेलको भनाइ थियो। संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा हामीहरु रहेका छौं, त्यसले नै देशको वृहत्तर हित गर्दछ । कार्यक्रममा नेजाका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार कृष्णप्रसाद शर्माले अमेरिकामा रहेका मिडियाहरुको लागि समन्वय गर्न र सत्य तथ्य सूचना सम्प्रेषण गर्न दूतावासले सहजीकरण गरोस् भन्ने सुझाव व्यक्त गर्नुभयो ।

NEAJA Handover Constitution Memorandum (5)
नेजाका अध्यक्ष गौतम दाहालले सुझाव पत्र राजदूत कार्कीलाई हस्तान्तरण गर्दै मूल कानून संविधान भएकाले संविधानलाई नागरिकको अधिकतम अधिकारलाई संरक्षण गर्नुपर्ने वताउनु भयो । नेजाको तर्फवाट अध्यक्ष गौतम दाहाल, सल्लाहकारहरु गिरीश पोखरेल र कृष्णप्रसाद शर्मा, क्षेत्रीय संयोजक विश्वराज थापा,कार्यकारी सदस्य मधुकर अधिकारी,संस्थापक कोषाध्यक्ष गुणराज लईटेल,लेखनाथ भण्डारी,भरत वराईली,अंकुश नेपाल,जीतमान वस्नेत लगायतका सहभागी हुनु भएको थियो ।

NEAJA Handover Constitution Memorandum (7)
के के छ सुझावमा ?
नेजाले पेश गरेको सुझावमा भनिएको छ सूचनाको हकको पूर्ण प्रत्याभूति नै नागरिकको अधिकार हो । त्यसैले सूचनाको हकलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्र परिचालन होस् भन्ने हामीहरुको सुझाव रहेको छ ।
नेजाले पेश गरेको सुझावमा उल्लेख छ– नेपालको ईतिहासमा संविधान सभा मार्फत संविधान जारी गर्ने उद्देश्यका साथ दोश्रो संविधान सभाका जननिर्वाचित सभासदहरुको पहल र प्रयासमा नेपालको संविधान २०७२ जारी गर्न मस्यौदा कपी आप्रवासी नेपालीहरु समक्ष पुगेकोमा हामी नेपाल सरकार, संविधान सभालाई हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
नेजाले मस्यौदा गरिएको संविधानको धारा २२ र २४ मा प्रतिवन्धात्मक वाक्यांशहरु मार्फत स्वतन्त्र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अंकुशको रुपमा कानून निर्माण गर्ने व्यवस्थाले पूर्ण प्रेस स्वतन्त्रता,विधिको शासन र पारदर्शीतालार्ई पूर्ण रुपमा अस्वीकार गरिएको अनुभूतिगर्न सकिन्छ । तसर्थ त्यस्ता विषयहरु संशोधन हुनुपर्नेमा नेजाको जोड रहेको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाले मस्यौदा संविधानको धारा २४को उपधारा १ मा भएको व्यवस्थामा भएको ………तर यस उपधारामा लेखिएको कुनै कुराले सञ्चारका विभिन्न माध्यमको नियमन गर्न कानून बनाउन वन्देज लगाएको मानिने छैंन भन्ने वाक्यांश हटाउन माग गर्दछ भनिएको छ ।

NEAJA Handover Constitution Memorandum (24)
यसै गरी नेजाले मस्यौदाको दफा ३२ मा रहेको सूचनाको हक सम्वन्धि व्यवस्थामा रहेको कानून वमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई वाध्य पारिने छैंन भन्ने वाक्यांशलाई परिमार्जन गरी सूचनाको हक सम्वन्धि कानून वमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई वाध्य पारिने छैंन भन्ने व्यवस्था हुनुपर्छ भनी सुझाव पेश गरेको छ । यसै गरी नेजाले संविधान जति सक्दो चाँडो जारी गर्न पनि अनुरोध गरेको छ । संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङ्गलाई नेपाली दूतावासका राजदूत डा। अर्जुन कार्की मार्फत पठाइएको सुझावको वोधार्थ प्रधानमन्त्री सुशील कोईराला र मस्यौदा समितिका संयोजक कृष्ण सिटौलालाई दिइएको छ

प्रतिक्रिया