नेकोन द्वारा भुकम्प पिडितका लागि ४७ हजार डलर राजदुत डा कार्कीलाई हस्तान्तरण

इनेप्लिज २०७२ साउन ४ गते २३:४२ मा प्रकाशित

2नेपालमा हालै गएको महा विनासकारी भूकम्पमा परी हजारौ संख्यामा जनधनको क्षति भएको तथा कैयौको संख्यामा घाईते भई मुलुक अस्तव्यस्त भएको अवस्थामा उक्त संकट समाधान गर्नका लागि देश तथा विदेशबाट समेत विभिन्न संघ संस्था र व्यक्तिहरुबाट आवस्यक भौतिक एवं आर्थिक सहयोग भई रहेको तथ्य हामी सबै माझ छर्लंग छ |

यस्तो दुखद परिस्थितिमा बिदेशमा रहेका संघ संस्थाहरु मध्ये कनेक्टिकट नेपाली समाज (नेप्लिज एसोसीयेसन अफ कनेक्टिकट ) ले आफ्नो नेतृत्वमा जम्मा गरेको राहत रकम ४७ हजार ५ सय १७ डलर र ९ सेन्ट हालै एक बिशेष कार्यक्रमको अयोजना गरि नेपाल सरकारका प्रतिनिधि अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्की समक्ष हस्तान्तरण गरियो |

उक्त अवसरमा महामहिम राजदूत डा. अर्जुन कुमार कार्की समक्ष नेपाली समाज कनेक्टिकट का अध्यक्ष्य श्री शंकर प्रसाद ढकालले सो रकमको चेक हस्तान्तरण गर्नुभयो |

उक्त रकम चेक बुझ्दै महामहिम राजदूत श्री कार्कीले बिदेशमा बसेका नेपालीहरु र यहाका संस्थाहरुले नेपाल र नेपाली प्रतिको देखाएको सद्भावको प्रशंसा गर्दै सो रकम भुकम्पबाट प्रभावित परिवारको हातमा पुग्ने विश्वास दिलाउनु भयो | वहाले यस्ता बिपतका समयमा गैर आवासीय नेपालीहरुले बेला बेलामा आर्थिक सहयोग गरेर महत्वपूर्ण उदाहरण देखाएको कुरा पनि बताउनु भयो |

3यसै गरि वहाले हालै मुलुकमा बन्दै गरेको संविधानको बारेमा र टि.पी.एस (Temporary Protected Status) को बारेमा पनि प्रकाश पार्दै कनेक्टिकट नेपाली समाजलाई हार्दिक धन्यवाद दिनु भयो |

उक्त अवसरमा संस्थाका अध्यक्ष्य शंकर ढकालले संस्थाले उठाएको सो रकम संकलन गर्न सम्पूर्ण कनेक्टिकटवासी र बिभिन्न संघ संस्थाको सहयोग एव बालबालिकाहरुले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै संस्थाका पुर्व कार्यसमितिका सम्पूर्ण पदादिकारी र राहत संकलन कार्यमा जुट्ने सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो |

उक्त राहत संकलन कार्यमा संयोजक रमेश के. सी. ले हामी सबैको सहयोगबाट रकम संकलन सम्भव भएको बताउनु भयो | कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सचिब नारायण पौडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सहसचिब केशब शर्मा दाहालले गर्नु भएको थियो |

4सो कार्यक्रममा नेकोनका प्रमुख सल्लाहकार केदार खतिवडा, एनआरएन कनेक्टिकट च्याप्टरका अध्यक्ष राम प्रसाद ओझा, कालिदास शर्मा, उत्तम लोहनी, अशोक श्रीवास्तब लगायतले आआफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो |

कार्यक्रमको सुरुमा प्रमुख आतिथि, संस्थाका अध्यक्ष लगायत अतिथिहरुलाई प्रमिला सुबेदी द्वारा खादा ओढाई तथा गोपाल पोख्रेल द्वारा पुष्पगुच्छा प्रदान गरी सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको लागि टेस्ट अफ इंडिया वेस्ट हार्टफोर्ड परिवारले हल उपलब्ध गराई सहयोग गरेको थियो l कार्यक्रमको दोस्रो चरणमा नेपालको संविधानको मसौदाको विषयमा राय सल्लाह सुझाब समेत राखिएको थियो |

उक्त कार्यक्रम सम्पन्न भए लगत्तै राजदूत कार्कीले नेकोनद्वारा संचालित ग्रिस्मकालिन नेपाली भाषा पाठशालाको अवलोकन गर्नु भएको थियो | सो अवसरमा भाषा पाठशालाका संयोजक राजन तिम्सिनाले बालबालिकाले भाषा पाठशालाबाट लाभ उठाएको बारेमा राजदूत समक्ष प्रकाश पार्नु भयो |

1

प्रतिक्रिया