सबैलाई समेट्ने खालको संविधान आउँछ: मन्त्री आचार्य

इनेप्लिज २०७२ साउन ४ गते १५:४५ मा प्रकाशित

narahari-acharyaकाठमाडौँ, ४ साउन । कानुन, न्याय, संविधानसभा र संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले अब बन्ने संविधानले सबैको भावनालाई समेटिने बताउनुभएको छ ।

संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा आज काठमाडौँ क्षेत्र नं ५ स्थित धुम्रबाराहीमा आयोजित नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री आचार्यले भन्नुभयो, “तपाईंहरुले दिनुभएको सुझाव संविधानसभामा लगेर सहमति भएका विषय, असहमति रहेका विषय र विवादित विषयलाई छुट्टाछुट्टै राखेर अध्ययन गर्दछौँ ।”मन्त्री आचार्यले छुट्टाछुट्टै दलका छुट्टाछुट्टै धारणा भएकाले संविधानसभामार्फत यसलाई एकीकृत धारणा बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सभासद् जनकराज जोशीले नेपाली जनताको २००७ सालदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान बनाउन सपना पूरा हुने समय आएकाले आफ्नो राय खुलस्त रुपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो । सभासद् मीरा ध्वजुले देश बाहिर पनि सुझाव सङ्कलन भएकाले प्रवासमा बसेका नेपालीले पनि आफ्नो राय दिनुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का ४ र ५ नं वडाका एक सयभन्दा बढीले आफ्नो राय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया