सुझावलाई जस्ताको तस्तै कार्यान्वयन गरिन्छ: नेता खनाल

इनेप्लिज २०७२ साउन ४ गते १२:१२ मा प्रकाशित

jhalanath-khanalइलाम, ४ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित सुझाव जस्ताको तस्तै संविधानसभामा पुर्‍याइने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं १ को सूर्याेदय नगरपालिकाको लेप्चा सङ्ग्रहालयमा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा उहाँले सङ्कलित सुझावलाई जस्ताको तस्तै सभामा पुर्‍याइने प्रतिबद्धता जनाउनुभयो ।

अधिकांश नागरिकले संविधानमा थ्रेसहोल्डको व्यवस्था, सार्वजनिक पदमा बस्नेको शैक्षिक योग्यता, उमेरको हदजस्ता महत्वपूर्ण सुझाव दिएका छन् ।

नेपालमा संविधान बन्न नदिनेमा धेरै षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले नेपाली जनता सार्वभौमसत्ता भएकाले संविधान जारी गरेरै छाड्ने बताउनुभयो । संविधान बनाउने प्रक्रियालाई कसैको आदेशले रोक्न नसक्ने बताउँदै उहाँले जसरी पनि संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभयो ।

संविधान बनाउने कुरामा काँग्रेस, एमाले र एनेकपा माओवादीबीच भएको चट्टानजस्तो सहमतिले संविधान जारी गरेरै छाड्ने उहाँको भनाइ छ । नेता खनालले भन्नुभयो, ‘‘इतिहासले हामी सबैलाई मिलेर अघि बढ्न आग्रह गरेको छ ।’’

कार्यक्रममा सभासद् सूर्यवाला राईले सुझावलाई जस्ताको तस्तै कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।

इलाम क्षेत्र नं १ मा भएको सुझाव सङ्कलन कार्यक्रममा ४० वटा मौखिक र १०० भन्दा बढी लिखित सुझाव प्राप्त भएको छ ।

प्रतिक्रिया