सुन्दरीजल-पशुपति बोलबम मेला सुरु

इनेप्लिज २०७२ साउन ४ गते २:४३ मा प्रकाशित

सुन्दरीजल (काठमाडौँ), ४ साउन । साउन महिनामा लाग्ने बोल बम मेला आज बिहानैदेखि सुन्दरीजलको सुन्दरीमाईदेखि पशुपतिनाथ मन्दिरसम्म श्रद्धालु भक्तजनको सहभागितामा सुरु भएको छ ।

साउन महिनाको सोमबार कुनै पनि शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने धार्मिक विश्वासमा यो मेला लागेको हो । अझ पशुपतिनाथलाई त ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गअर्थात् महा ज्योतिर्लिङ्गका रुपमा विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् ।

यसैकारण पनि साउन महिना र विशेषगरी सोमबार पशुपतिमा जल अर्पण गर्नका लागि भक्तजनको भीड लाग्ने गरेको छ । आइतबार बेलुकी नै सुन्दरीजल बस्न आइपुगेका भक्तजनले राति १२ बजेपछि नै सुन्दरीमाई मुनिको बाग्मतीमा स्नान गरी शुद्ध जल लिएर आउन सुरु गरेको कुपन्डोलबाट बोलबम मेलामा आउनुभएकी सिलु थापामगरले जानकारीे दिनुभयो ।

“पहेँलो पहिरनमा खाली गोडा शुद्ध जल बाग्मतीको मुहानस्थलबाट लगी पशुपतिमा चढाउँदा विगत पाँच वर्षदेखि मेरो जीवनमा इच्छा आकाङ्क्षा पूरा भएको प्रत्यक्ष अनुभव गरेकी छु, त्यसैले यस वर्ष पनि निरन्तरता दिन आएकी हुँ”–आइतबार बेलुकी सुन्दरीजलमा उत्रिएपछि रासससँगको प्रतिक्रियमा उहाँले भन्नुभयो ।

विशेषगरी मधेसका जनसमुदायले भाग लिने गरेको बोलबमअर्थात् श्रावणी मेलामा विगत सात वर्षदेखि भने पहाडी समुदायका मानिसको पनि सहभागिता जुट्न थालेको छ । यो मेलामा हाल असनका नेवारी समुदायको समेत उल्लेखनीय सहभागिता देखिने गरेको छ ।

आजको श्रावणी मेला र बोलबम यात्रामा भाग लिन दुई दर्जन साथीभाइका साथ असनबाट आउनुभएकी श्रुति जोशी पनि एक हुनुहुन्छ । मधेसवासी दाजुभाइले बोलबम यात्रा गरेको देखेर इच्छा पूरा हुने धार्मिक विश्वासमा यो यात्रालाई विगत तीन वर्षदेखि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । “म आफैँले मनको इच्छा पूरा हुने कुरा प्रत्यक्ष व्यवहारमा अनुभव गरेकी छु”– जोशीले भन्नुभयो ।

यस्तै अनुभव गरेर जोरपाटीका प्रदीप पुडासैनीले पनि सात वर्ष अघिदेखि यो यात्रामा सहभागिता जनाउँदै आउनुभएको छ । विगत सत्र वर्ष अघिदेखि सुन्दरीजलबाट बोलबम यात्रा र श्रावणी मेला सुरु भएको हो । सत्र वर्षदेखि सुरु भए पनि सुन्दरीजलदेखि पशुपतिसम्म कतै पनि व्यवस्थित रुपमा मेला सञ्चालन नभएको पुडासैनीले गुनासो गर्नुभयो ।

“सुन्दरीजललाई बोलबम यात्रा स्थलका रुपमा विकसित गर्नसके भारतका भक्तजनसमेत बोलबम यात्राका लागि नेपालमा आउनसक्ने सम्भावना देखिएको छ”– उहाँले भन्नुभयो “यसबाट धार्मिक पर्यटनको विकास हुने निश्चित छ, यसतर्फ सम्बन्धित सरकारी निकायको ध्यान जान आवश्यक छ ।”

बोलबमबाट इच्छाइएको कुरा प्राप्ति हुने धार्मिक विश्वासमा बालकदेखि वृद्धसम्म यो यात्रामा सहभागी हुने गरेका छन् । जोरपाटीका आठ वर्षीय आशिष नेपाली यही विश्वासमा ११ किलोमिटर लामो सुन्दरीजल पशुपतिनाथ श्रावणी मेलामा सहभागी बनिरहेका छन् । “राम्रो विद्या प्राप्ति हुने विश्वासमा म यो यात्रामा सहभागी भएको हुँ”– उनले भने ।

बालबालिका विद्या प्राप्ति, किशोर किशोरी विद्या, प्रेममा सफलता र रोजगारी, वयस्क एवम् वृद्धवृद्धाले भने सुख शान्ति र ऐश्वर्य प्राप्तिको कामनाका लागि सुन्दरीजलबाट शुद्ध जल लगी महादेवलाई अर्पण गर्दछन् ।

मेलाका लागि काठमाडाँै मात्र होइन बाहिरबाट समेत हजारौँ भक्तजन उपत्यकामा भित्रिएका छन् । धादिङ धार्केकी देवकी अधिकारी बिहान ३ बजे रिजर्भ गाडी लिएर २०० भक्तजनका साथ सुन्दरीजल– पशुपतिनाथ श्रावणी मेलामा सहभागी हुन आएको बताउनुहुन्छ ।

काठमाडौँको यो मेलामा सहभागी हुन राजधानी वरपर र तराईका जिल्लाबाट धेरै भक्तजन काठमाडाँै भित्रिने गरेको बोलबम काँवरिया सङ्घका केन्द्रीय सदस्य प्रेमनिधि भारद्वाजले बताउनुभयो ।

बोलबम यात्रा र श्रावणी मेलाप्रति तराईवासीको विश्वास पनि गजबको छ । यस्तै विश्वासमा यो मेलामा १५ वर्ष अघिदेखि निरन्तर सहभागी हुँदै आउनुभएका सप्तरी जिल्ला इनर्वा गाविस–६ का जगदेव यादव पनि एक हुनुहुन्छ ।

विसं २०४८ मा चन्द्रकला यादवसँग वैवाहिक बन्धनमा बाँधिनुभएका जगदेवको विवाह गरेको आठ वर्ष बितिसक्दा पनि सन्तान भएनन् । त्यसपछि भारतको झारखण्डस्थित वैद्यनाथ धाम गई निरन्तर १८ घन्टाको डाँक बम यात्रा गरी जल चढाउनुभयो ।

त्यही यात्राका क्रममा यादवले नेपालको पशुपतिनाथमा जल चढाउनु जति राम्रो अन्त कतै पनि चढाउँदा हुँदैन भन्ने भारतीय विद्वानबाट सुनेपछि २०५७ सालदेखि नेपालमै आएर पशुपतिनाथमा जल चढाउन थालेको सुनाउनुभयो ।

पशुपतिनाथमा जल चढाउन थालेको छ वर्षपछि २०६३ सालमा यादवकी छोरी जन्मिइन् । त्यसपछि पनि यात्रालाई निरन्तरता दिएकाले २०६५, २०६७, र २०६९ मा तीनवटा छोरा जन्मिएको विश्वास पनि यादवमा रहेको छ । यही विश्वासका आधारमा आज यादवले श्रीमती, छोरी र छोरालाई पनिसँगै ल्याएर सुन्दरीजलदेखि पशुपतिसम्म यात्रा गरी शुद्ध जल पशुपतिमा चढाउन लाग्नुभएको छ ।
यो यात्रामा सच्चा मनले मागे इच्छाइएको पूरा हुने अनुभवसमेत यादवले सुनाउनुभयो । भक्तजनका यस्तै अनुभवका आधारमा प्रत्येक वर्ष सहभागीको सङ्ख्या बढ्दै गएको छ ।

प्रेमीप्रेमिका र विवाहित जोडी भने आफ्नो जोडीकै साथमा पहेँलो कपडा पहिरिएर खाली खुट्टा ठूलो स्वरमा बोल बम भन्दै हिँड्छन् । यसले बाटामा हिँड्नेलाई समेत आकर्षित गरिरहेको रोचक दृश्यसमेत देखिन्छ ।

सुन्दरीजल–पशुपति ११ किलोमिटरको दूरीमा ठाउँठाउँमा भक्तजनका लागि सर्वत र पानीको व्यवस्था गरिएको छ । ती ठाउँमा शिवसम्बन्धी भजनसमेत बजाइएकाले सुन्दरीजलदेखि पशुपतिसम्मकै क्षेत्र तीर्थमय बनेको छ ।

सुन्दरीजलबाट शुद्ध जल लिई आएका भक्तजन अहिले पशुपतिमा जल चढाउन लामो लाइन लागेर बसेका छन् । पशुपतिमा आज बिहान १ बजेदेखि नै पूजाआजाका लागि भक्तजनको भीड लागिरहेको छ । आज साउनको पहिलो सोमबार भएकाले पनि भक्तजनको भीड भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

भक्तजनको राम्रो व्यवस्थापनकै लागि राति २ बजेदेखि स्वयम्सेवक खटाइएको जानकारी उहाँले गराउनुभयो । यस वर्ष पाँचवटा सोमबार परेकाले पनि भक्तजनको आजैदेखि विशेष भीड लागेको कोषले जनाएको छ । वैशाख १२ गतेको भूकम्पपछि पशुपतिमा भक्तजनको धेरै भीड लागेको यो पहिलो अवसर हो ।

प्रतिक्रिया