जनता स्वस्फुर्तरुपमा राय सुझाव दिँदै

इनेप्लिज २०७२ साउन ४ गते २:२९ मा प्रकाशित

धनगढी, ४ साउन । संविधान लेखनका लागि पहिलो पटक जनताको राय सुझाव माग गरिएपछि कैलाली जिल्लाका गाउँ टोलमा स्वस्फुर्तरुपमा सर्वसाधारणले आआफ्नो सुझाव दिइरहेका छन् ।

राय सुझावका लागि संविधानसभा सचिवालयका कर्मचारीको टोली गाउँ र टोलमा पुगेपछि गरिएको भेलामा किसान, मजदुर, राजनीतिक कार्यकर्ता, व्यापारीलगायतको सहभागिता रहेको छ ।

राय सुझावका लागि धनगढी नगरपालिका कार्यालयमा पुगेका पूर्व प्रहरी रामबहादुर शाहीले संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने सुझाव लिखितरुपमा दिनुभयो ।

“आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने सुझाव दिएँ शाहीले भन्नुभयो हिन्दू राष्ट्र नेपालको पहिचान भएकाले यो बिना देशको अस्तित्व खतरा पर्नेछ ।”
राय सुझावका लागि नगरपालिकाको परिसरमै भेटिनु भएका साहित्यकार हरिलाल गिरीले संविधानसभाले तयार गरी पठाएको मस्यौदामा जनताको राय समेटिनेमा आशङ्का व्यक्त गर्नु भयो । चार ठूला दलले लामो विवाद पछि बल्ल मस्यौदा तयार गरिसकेको अवस्थामा मस्यौदामा जनताले दिएको राय सुझाव कसरी समेट्छन् भन्ने प्रश्न गर्नुभयो ।

भेलामा सहभागीले खासगरी सङ्घीयता, गणतन्त्र, धर्म र आरक्षणका विषयमा आआफ्नो सुझाव राखेका थिए । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले सङ्घीयतामा हालको सुदूरपश्चिमलाई एक राज्य बनाउनुपर्ने, नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, अहिलेका पाँच विकास क्षेत्रलाई नै सङ्घीय राज्य बनाउँदा उपयुक्त हुने सुझाव अधिकांशले दिएको पाइएको बताउनुभयो ।

उता टीकापुर क्षेत्रका वडामा समूहगतरुपमा संविधानको मस्यौदाउपर छलफल भई राय सुझाव प्रस्तुत गरिएको छ । सहभागी कतिपयले सङ्घीयतामा सुदूरपश्चिमलाई एक राज्य बनाउनुपर्ने सुझाव दिएका छन् भने अन्य कतिपयले सुदूरपश्चिमका कैलाली कञ्चनपुर जिल्लालाई थारुहट प्रदेशमा गाभ्नु पर्ने सुझाव दिएको पाइएको नगरपालिका कार्यकारी अधिकृत तुल्सी आचार्यले बताउनुभयो ।

मस्यौदा नै नपाएपछि के को सुझाव दिनु होटेल व्यवसायी जीवन धामीले गुनासो गर्नुभयो । कैलाली जिल्लाका अन्य सहरी र ग्रामीण क्षेत्रमा पनि संविधानको मस्यौदा नपाएको कतिपयको गुनासो रहेको छ ।

यता राय सुझाव सङ्कलनका लागि कैलाली खटाइनु भएका संविधानसभा सचिवालयका उपसचिव सुरज दुराले कैलालीका लागि दुई हजारप्रति मस्यौदा र मस्यौदा प्रकाशित करिब तीन हजार गोरखापत्रकाप्रति ल्याएकामा सबैलाई बाँड््न नसकिएको बताउनुभयो ।

झन्डै सात लाख ५० हजार जनसङ्ख्या रहेको कैलाली जिल्लामा ६ निर्वाचन क्षेत्र रहेका छन् । नगर र गाउँस्तरीय राय सुझाव शनिबार र आइतबार लिइएकामा निर्वाचन क्षेत्रस्तरीय राय सुझाव सोमबार लिई मङ्गलबार सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया