नागरिकताभन्दा राहदानी बनाउने दोब्बर

इनेप्लिज २०७२ साउन २ गते ३:१४ मा प्रकाशित

Passport_20100808084425बागलुङ, २ साउन । बागलुङमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर बढी पाइएको छ । गत आवमा सात हजार ५९४ जनाले नागरिकता बनाएकामा राहदानी लिनेको सङ्ख्या त्यसको दोब्बर १६ हजार ३५४ जना रहेका छन् ।

अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् । दु्रत सेवामार्फत राहदानी बनाउने बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दु्रत सेवाका लागि गत वर्ष आठ हजार ६०७ राहदानी सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै साधारणतर्फ छ हजार ९५४ राहदानी जिल्लामै दर्ता भएको प्रजिअ पौडेलले बताउनुभयो । कार्यालयका अनुसार चार हजार ५०० राहदानी वितरण भइसकेका छन् । दु्रत सेवा प्रयोग गर्ने सेवाग्राहीले रु १० हजार तिरेर काठमाडौँबाट हप्ता दिनमा राहदानी निकाल्ने गरेका छन् ।

साधारण सेवा लिने भने रु पाँच हजारमा ४५ दिनभित्र राहदानी पाउने गरेका छन् । जिल्लाको बुर्तिवाङका रहेको एकीकृत सेवा केन्द्रले पनि गत फागुनबाट राहदानी सेवा सुरु गरेपछि राहदानी बनाउने सङ्ख्या बढेको हो ।

सो केन्द्रबाट गत आवमा दु्रत सेवामा ५२३ र साधारणतर्फ २७० राहदानी सिफारिस भएको बताइएको छ ।

सेवा केन्द्रबाटै राहदानी सेवा पाएपछि दुर्गमका सेवाग्राहीलाई ठूलो राहत मिलेको छ । “पछिल्लो समय राहदानी बनाउने सङ्ख्यामा वृद्धि आएको छ, युवा विदेश जाने क्रम तीव्र बनेको छ” प्रजिअ पौडेलले भन्नुभयो ।

पछिल्ला वर्षको आँकडा तुलना गर्दा बर्सेनि राहदानी बनाउने क्रममा वृद्धि हुँदै आएको उहाँको भनाइ छ । जिल्लाका ४० हजार बढी युवा अध्ययन र रोजगारीको सिलसिलामा विदेश रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया