दिक्तेल नगरपालिकामा सडकबत्ती जडान

इनेप्लिज २०७२ साउन १ गते ४:३८ मा प्रकाशित

Thumbnails1_Mercury_Vapor_Streetlightखोटाङ, १ साउन । खोटाङको दिक्तेल नगरपालिकामा पहिलो पटक सडकबत्ती जडान गरिएको छ । नगरभित्र हुनसक्ने सम्भावित दुर्घटना कम गर्ने उद्देश्यले नगरपालिकाको बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको हो ।

दुर्घटना हुन सक्ने सम्भावित ३१ ठाउँमा पहिलो चरणमा सडकबत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा ३१ ठाउँ सडकबत्ती जडान गरिएको छ, यसले पर्याप्त भएको छैन । त्यसैले स्थानीयवासी र नगरपालिकाको सहकार्यमा बाँकी सबै ठाउँमा जडान गर्ने तयारी गरेका छौँ ।”

सडकबत्ती जडान गरिएपछि अस्पतालसम्म बिरामी लैजान तथा ल्याउन सहज भएको नगरवासीले बताएका छन् । सडकबत्ती जडानले नगरभित्र फोहोर फाल्न नियन्त्रण हुनुका साथै प्रहरी गस्तीमा समेत सहज भएको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो ।

नगरपालिकाको रु पाँच लाख लागतमा जडान गरिएको सडकबत्ती रातको समयमा आफँै बल्ने र दिउँसो आफैँ बन्द हुने गर्दछ । सोलार प्यानलको माध्यमबाट बल्ने सडकबत्ती बिहीबार साँझ मात्र जडान कार्य सम्पन्न भएको र बाँकी ठाउँमा नगरपालिकाको ६० र स्थानीय समुदायको ४० प्रतिशत लागतमा जडान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया