पजरकट्टी गाविस खुला दिसामुक्त तथा पूर्ण साक्षर गाविस घोषणा

इनेप्लिज २०७२ असार ३१ गते ३:०१ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), ३१ असार । रुपन्देहीको पजरकट्टी गाविस खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर गाविस घोषणा भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शङ्करमणि ज्ञवालीले गाविसलाई औपचारिक रुपमा खुल्ला दिसामुक्त गाविस घोषणा गर्नुभएको हो ।

पजरकट्टी गाविसमा रहेका कुल घरधुरी ८७१ मा सबैको घरमा पक्की चर्पी निर्माण भई प्रयोगसमेत भएकाले गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको प्रमुख ज्ञवालीले बताउनुभयो । यसैगरी गाविसमा रहेको ४८९ निरक्षरमध्ये ९५ प्रतिशतलाई साक्षर भएकाले गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको हो ।

घोषणासभामा वक्ताहरुले खुला दिसामुक्त क्षेत्र घोषणा पूर्ण सरसफाइको पहिलो खुड्किलोका रुपमा मात्र रहेकाले यसपछिका दिनमा अझै सशक्त भएर लाग्न पजरकट्टी गाविसवासीलाई अनुरोध गरेका थिए । पजरकट्टी गाविससचिव रामप्रसाद शर्माको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया