दातृ निकायको सहयोगमा मुक्त कमलरी प्राविधिक शिक्षा लिँदै

इनेप्लिज २०७२ असार २८ गते २:३९ मा प्रकाशित

कञ्चनपुर, २८ असार । दातृ निकायको सहयोगमा कञ्चनपुरका चार जना मुक्त कमलरीले प्राविधिक शिक्षा पढ्ने मौका पाएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्थाले सञ्चालन गरेको कमलरी प्रथा उन्मूलन परियोजनाअन्तर्गत दुई जनाले सामान्य चिकित्सा (एचए), एक जनाले जेटिए र स्टापनर्स पढ्दै आएका छन् ।

संस्थाले चारै जनालाई पढ्नका लागि आवश्यक शुल्क, कोठा भाडा, शैक्षिक सामग्री र खाना खर्चबापतको रकम व्यहोर्दै आएको परियोजनाका अधिकृत हिक्मत दमाईंले बताउनुभयो ।

सामान्य चिकित्सा पढ्दै आएका भीमदत्तनगरपालिका–२ उल्टाखामकी राजकुमारी चौधरी र देखतभूली–१ चाँनदेउकी पार्वती चौधरीलाई पढ्नका लागि शुल्क मात्रै संस्थाले रु चार लाख व्यहोर्दै आएको उहाँले बताउनुभयो ।

दुवै जना फारबेस्ट स्कुल अफ मेडिसिनमा महेन्द्रनगरमा दोस्रो वर्षमा अध्ययनरत रहेका छन् । यसैगरी, संस्थाकै सहयोगमा अनाकरकली रानाले जेटिए र शर्मिला चौधरीले स्टाफनर्स पढ्दै आएका छन् ।

दुवै जनाको वार्षिक झन्डै रु दुई लाख बढी मासिक शुल्कबापतको खर्च संस्थाले उपलब्ध गराउने व्यवस्था गरेको छ “चारै जनालाई कोठा भाडाबापत मासिक रुपमा रु तीन हजार ६०० र शैक्षिक सामग्रीबापत रु तीन हजार संस्थाबाट उपलब्ध गराउने व्यवस्था छ ।” अधिकृत दमाईंले भन्नुभयो ।

सामान्य चिकित्सा पढ्दै आउनुभएकी राजकुमारी चौधरीले परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले पढन सक्ने अवस्था थिएन संस्थाको सहयोगमा पढ्ने मौका पाएको बताउनुभयो । “पढ्ने मौका दिएर संस्थाले गुन लगाएको छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया