वर्षात्का कारण तटबन्धको काम प्रभावित

इनेप्लिज २०७२ असार २८ गते २:०८ मा प्रकाशित

Mahakali-nadi1भीमदत्तनगर, २८ असार । महाकाली नदी किनारमा पर्ने दार्चुला सदरमुकाम खलङ्गालगायत विभिन्न क्षेत्रमा थालिएको तटबन्ध निर्माणको काम वर्षात्का कारण प्रभावित बनेको छ ।

आवश्यक परेर अस्थायी तटबन्धको कामबाहेक अन्य नियमित तटबन्ध निर्माणको काम वर्षात्को समय हुनाले प्रभावित बन्न पुगेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

महाकाली नदीमा २०७० साल असारमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो । सदरमुकाम क्षेत्रमा मात्रै बाढीले १५८ घर बगाएको थियो । लगत्तै सरकारले महाकाली नदीमा तटबन्ध निर्माणमा चासो देखाउँदै तटबन्ध आयोजना बनाएर नदी नियन्त्रणको काम थाल्ने निर्णय गरेको थियो । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख महेन्द्रप्रसाद बडूले टेन्डरलगायतका प्रक्रिया गत वर्षदेखि थालिए पनि यो वर्षदेखि तटबन्ध निर्माणको काम थालिएको बताउनु भयो ।

उहाँका अनुसार सदरमुकाम क्षेत्रमा साढे चार किलोमिटर कङ्क्रिट पर्खाल निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ भने अन्य क्षेत्रअन्तर्गत साढे आठ किलोमिटर लम्बाइमा ढुङ्गा तारजालीको पर्खाल बनाउन भनिएको छ ।

“हामीले सदरमुकामको कामलाई मात्रै १३ भागमा विभाजन गरी काम थालेका छौँ ।” आयोजना प्रमुख बडूले भन्नुभयो– “तीमध्ये आठ वटा भागमा यो वर्षदेखि काम थालिएको छ ।” उहाँले वर्षात्का कारण कङ्क्रिट पर्खाल निर्माणको काम केही दिनदेखि अवरुद्ध भएको जानकारी दिनुभयो ।

केही साताअघि आएको वर्षाका कारण निर्माणस्थलसम्म पुग्ने सडकसमेत बन्द भएकाले पनि काम रोकिएको हो ।
त्यसैगरी ढुङ्गा जालीसहितको तटबन्ध निर्माणका लागि यो वर्ष डेढ किलोमिटर टेन्डर गरिएको छ । डेढ किलोमिटरमा ८० प्रतिशत काम भइसकेको आयोजना प्रमुख बडूले जानकारी दिनुभयो ।

पाँच वर्षसम्म तटबन्ध निर्माणको सबै काम सक्ने लक्ष्य राखिएको भए पनि दुई वर्षसम्म थप समय लाग्न सक्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया